रुपन्देही— तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराएको छ।
किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय आउन प्रोत्साहित गर्ने उदेश्यले स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइएको हो।
लैंगिकमैत्री नगर बनाउने लक्ष्य अनुरुप नगरपालिकाले सामुदायिक छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड दिन थालेको जनाएको छ।
तिलोत्तमा नगर उप–प्रमुख जागेश्वरी चौधरीले रजस्वला हुँदा विद्यालय नआउने र आएपनि बीचमैं कक्षा छाडेर जानुपर्ने समाधान गर्न समस्या समाधानका स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिइन्।
उनले भनिन्,‘सो कार्यका लागि चालु आर्थिक वर्षमा ५ पाल रुपैंयाँ बजेट छुट्याएको छ।’
कक्षा ६ देखि माथिका छात्राहरुलाई लक्षित गरी नगरपालिकाले यस्तो व्यवस्था मिलाएको छ।
नगरपालिकाका शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरुको संख्या ३ हजार ६५० रहेकोले प्रतिछात्रा १३६ रुपैंयाँका दरले स्यानिटरी प्याडका लागि विद्यालयलाई रकम दिइएको बताए।
आर्थिक अभावका कारण धेरै छात्राले पुराना कपडा प्रयोग गर्ने भएकाले संक्रमण हुने जोखिम उच्च रहन्छ। नगरपालिकाले रजस्वला हुदाँ स्यानिटरी प्याड प्रयोगबारे चेतना अभिवृद्धिका लागि प्रभावकारी हुने विश्वास लिएको छ।
नगरपालिकाले गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराउने तयारी समेत गरेको छ।
यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई नगरपालिकाले संघीय सरकारले उपलब्ध गराउने रकममा ५०० रुपैंयाँ थपेर दिने गरेको छ।
नगरपालिकामा दुई वटा बर्थिङ सेन्टर छन्। नियमित स्वास्थ्य परीक्षण गराई बर्थिङ सेन्टरमा सुत्केरी महिलाले प्रोत्साहन भत्ता स्वरुप दुई हजार पाँच सय रुपैंयाँ प्राप्त गर्छन्।