काठमाडाैँ- मेडिकल माफियाहरुलाई कारबाही नगरे सत्याग्रहसहित आन्दोलनका कार्यक्रम सुरु गर्ने डा गाेविन्द केसीले चेतावनी दिएका छन्।
आज विज्ञप्ती सार्वजनिक गर्दै उनले नेपालका निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग वार्षिक अरबौं रुपैयाँ ठगी गरिरहेको अवस्थामा कलेजलाई कुनै कारवाही नगरेर अपराधीहरुलाई बचाउने मात्रै हैन उल्टै विद्यार्थीहरुको भविष्य बिगार्न लागी परेकाे बताएका छन्।
विज्ञप्तीमा अहिलेको मेडिकल कलेजहरुले दिनदहाडै गरिरहेको ठगी प्रकरणले देशमा रहेको भनिएको कानुनी राज्यको उपहास गरेको भन्दै ब्रम्हलुट बन्द गर्नका लागि न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेर बर्खास्तीको सिफारिश गरेका त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउने कुरा उल्लेख गरिएकाे छ।
साथै सरकारले तोकेकोभन्दा बढी शुल्क निर्धारित गर्दै मेडिकल कलेजको ठगीलाई वैधता दिने केयु पदाधिकारीहरुलाई समेत बर्खास्त गरेर दुवै संस्थामा योग्य र इमान्दार व्यक्तिहरुलाई नियुक्त गर्न माग गर्दै अघिल्ला मागहरु पूरा गर्न पनि ध्यानाकर्षण विज्ञप्तीबाट ध्यानाकर्षण गराइएकाे छ।