रुपन्देही– ‘एक प्रदेश एक मेडिकल कलेज’ को अवधारण अनुसार प्रदेश ५ मा बन्ने बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने भएका छन्।
तिलोत्तमा नगरपालिकाको कार्यक्रम प्यारामाउन्ट चोक निर्मित उक्त भवनको उद्घाटन गर्ने शिक्षा सचिव खगराज बरालले जानकारी दिए।
गत फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश ५ को रुपन्देहीको तिलोत्तमा, प्रदेश २ को महोत्तरीको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो।
संघीय सरकारले चालु बजेटमै मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रुपैयाँ विनियोजन गरेको छ। मासिक ३५ हजार भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सात जना कर्मचारीको दरबन्दी छ। आयोजना कार्यालय स्थापना भएपनि तत्काल फिल्डमा काम भने हुने छैन।
धेरैजसो कामहरु कानुनी प्रकृयामा भएकाले सुरुमा केन्द्रबाटै काम हुने उपसचिव मानबहादुर घिमिरेले बताए। कार्यालय उद्घाटनसँगै आयोजनाका काम सुरु हुनेछन्। आयोजनाले मेडिकल कलेज स्थापनाका लागि ईआईए, गुरुयोजना निर्माण, जग्गा प्राप्ति लगायतका कामहरु गर्नेछ।
योजनाअनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुने छ। त्यसका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ। डिपिआर लगत्तै २ सय बिघा जग्गामा तत्काल २ वटा ठूला भवन बन्ने छन्।