काठमाडौं- नेपालको राष्ट्रिय चिकित्सा पद्दति आयुर्वेदको मौलिक ज्ञान लिन अमेरिकाको माउन्ट भेर्नमस्थित कर्नेल कलेजबाट प्राध्यापक सहित १३ जनाको टोली नेपाल आएका छन्।
आयुर्वेद चिकित्सा पद्दति अन्र्तगत गरिने विभिन्न उपचारहरु पंचकर्म, शिरोधारा, अभ्यङ्ग, स्वेदन, पत्रपिण्ड स्वेद, कटि वस्ति आदि चिकित्सा विधि सम्बन्धि जानकारी एवं प्राविधिक ज्ञान हासिल गर्ने उद्देश्यले ६ दिने अध्ययन भ्रमण एवं तालिमको शिलशिलामा उनीहरु नेपाल आएका हुन्।
भैंसेपाटी, ललितपुर स्थित अजसृका आयुर्वेद एवं पंचकर्म सेन्टरले विगत ५ वर्ष देखि स्वदेशी एवं विदेशी नागरिकलाई पंचकर्म उपचार सेवा एवं आयुर्वेद सम्बन्धि जानकारी मूलक तालिम दिंदै आइरहेको छ।
सो तालिममा पंचकर्म, आयुर्वेदका प्राचिन उपचार विधिहरु, व्यक्तिको प्रकृति पहिचान, आहार, दिनचर्या, औषधोपयोगी जडिबुटी एवं योग प्राणायामका बारेमा विद्यार्थीहरुले अध्ययन गर्ने कार्यक्रम संयोजक डा.कोपिला अधिकारीले बताइन्।
६ दिने सो अध्ययन भ्रमणका शिलशिलामा विद्यार्थीहरुले नेपालमा परम्परागत रुपमा पुस्तौंदेखि आयुर्वेद चिकित्सा पद्दति अबलम्बन गर्दै आइरहेका परम्परागत वैद्यहरु संग पनि अन्तक्र्रिया गर्ने छन्। साथै नेपालमा पाइने रैथाने जडिबुटिहरुको अध्ययन गर्ने क्रममा किर्तिपुर स्थित आयुर्वेद क्याम्पसको प्राङ्गणमा रहेको जडिबुटी बगानको पनि भ्रमण गर्ने कार्यक्रम रहेको अजसृका आयुर्वेद एवं पंचकर्म सेन्टर, ललितपुरका संचालक समिति अध्यक्ष डा.रामचन्द्र अधिकारीले जानकारी दिए।
एन्थ्रोपोलोजी एवं सोसियोलोजिका विद्यार्थीको समूह भएकाले उनीहरुमा नेपाली समाजमा आयुर्वेदको विकासक्रम एवं घरेलु उपचारका रुपमा कसरी आयुर्वेदको प्रयोग हुन्छ भन्ने विषयमा धेरै रुचि एवं जिज्ञासा रहेको छ।
यस किसिमको अध्ययन एवं तालिम भ्रमणले दुई देश बिचमा सामाजिक सद्भाव बढ्ने र विद्यार्थीहरुले नेपालको परम्परागत चिकित्सा पद्दति र संस्कृतिको बारेमा जानकारी पाउने कर्नेल कलेजकी एन्थ्रोपोलोजी विभागकी सह प्राध्यापक डा.मिशा क्विलले बताइन्।
विदेशी पर्यटकको नेपाल बसाइ लम्ब्याउन मद्दत गर्ने पंचकर्म, आयुर्वेद उपचार एवं अध्ययन तालिम भ्रमणले भिजिट नेपाल सन् २०२० लाई टेवा पुग्ने विश्वाश आयोजकको छ।