विराटनगर- प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ। प्रदेश सरकारअन्तर्गत रहेका तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको हो।
मन्त्रालयले मोरङको रङ्गेली जिल्ला अस्पताल, मङ्गलबारेको स्वास्थ्य केन्द्र, झापाको दमक जिल्ला अस्पताल र उदयपुर जिल्लाको कटारी अस्पताललाई स्तरोवृद्धि गर्ने कार्य शुरु गरेको हो।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङ, झापा र उदयपुुरअन्तर्गतका चार वटा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरी कार्य अगाडि बढाइएको बताए। उनले श्यया थप गरी जनतालाई उपचारका लागि आवश्यक पर्ने विभिन्न सेवा तथा सुविधा सहजरुपमा पाउने गरी सञ्चालन गर्न लागिएको जानकारी दिए।
हाल उक्त अस्पतालमा १५ श्यया रहेको छ। अस्पताल स्तरोन्नतिका लागि प्रत्येक जिल्ला अस्पतालका लागि प्रदेश सरकारले रु एक करोड ३० लाख रकम विनियोजिन गरिसकेको छ। मन्त्रालयले पहिलो चरणअन्तर्गत उक्त अस्पतालमा सेवा सुविधा उपलब्ध गराएकापछि प्रदेशअन्तर्गतका अन्य जिल्ला अस्पतालमा श्यया थप गरी विस्तार गरिने जनाएको छ। रासस