बागलुङ- शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ताराखोला गाउँपालिका–१ अमरभूमिमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन हस्तान्तरण गरेको छ। रु. एक करोड ३१ लाखको लागतमा निर्मित उक्त भवनको शनिबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गरेकी हुन्।
जुम्ली आचार्य जेवी तिलक निर्माण सेवाले सम्झौतामा तोकिएको अवधिभन्दा सात महिनाअघि नै भवन निर्माण गरेको हो। भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवनमा प्रशासन, उपचार, प्रयोगशाला, प्रसूति र औषधि भण्डारलगायतका कक्षसहित कर्मचारीको आवास सुविधाका लागिसमेत कोठा बनाइएको छ।
सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाह सहज हुने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर श्रीसले बताए।