पोखरा- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा एमआरआई सेवा सुरु भएको छ। अस्पतालमा हालसम्म उक्त सेवा थिएन।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एमआरआई सेवाको उद्घाटन गरेका हुन्। उक्त सेवाको उद्घाटन गर्दै मन्त्री यादवले उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गर्दै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिए।
उनले प्रतिष्ठानलाइ पोखराको मात्र नभई समग्र राष्ट्रको गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्न पनि आग्रह गरे।
प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर थापाले गुणस्तरीय चिकित्सा शिक्षा एवम् स्वास्थ्य सेवाका लागि पूर्वाधार विकास लगायतका कामलाई प्राथमिकताका साथ अघि बढाएको बताए।
अस्पतालका निर्देशक डा अर्जुन आचार्यले नौ लाख ६६ हजार अमेरिकी डलरको लागतमा एमआरआई मेशिन जडान गरिएको बताए। उक्त एमआरआई १ दशमलव ५ टेस्ला क्षमताको हो।