बैतडी- मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मातृ शिशु आकस्मिक कोषको स्थापना गरेको छ।
गरीब, विपन्न तथा आर्थिक अभावले ज्यान जोखिममा रहेका महिला तथा शिशुको स्याहारसुसार र ज्यान जोगाउनको लागि कोषको स्थापना गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन्। आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर कोष खडा गरेका हौँ' उनले भनिन् , 'गरीब विपन्न परिवारका लागि निकै प्रभावकारी हुने विश्वास गरेका छौँ।'
यसका साथै गाउँपालिकालाई निकट भविष्यमै घरमा हुने शून्य सुत्केरी घोषणा गर्न पनि सहयोग पुग्ने उपाध्यक्ष कार्कीको भनाइ छ। प्रसूति व्यथा लागेकी महिलालाई पालिकाभन्दा आकस्मिक रुपमा बाहिर रेफर गर्नुपरेको खण्डमा यातायात खर्च ब्यहोर्ने गरी कोषको स्थापना गरिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए। 'मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले कोषको स्थापना गरिएको हो', उनले भने, 'आमा र बच्चाको ज्यान जोखिमबाट बचाउन सहयोग पुग्नेछ।'
गाउँपालिकाले कार्यविधिनै बनाएर मातृ शिशु आकस्मिक कोषको स्थापना गरेको हो। कोषको लागि चालू आर्थिक वर्षमा एक लाख २० हजार रकमसमेत विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। यो वर्ष मातृ शिशु आकस्मिक कोषको लागि कम रकम विनियोजन गरिएको र अर्को वर्षदेखि उक्त कोषमा रकम थपिने बताइएको छ।
कोष सञ्चालनका लागि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय सञ्चालन समितिसमेत गरिएको छ। दोगडाकेदार गाउँपालिकामा हाल आठ सुरक्षित प्रसूति सेवा केन्द्र र पाँच सुरक्षित प्रसूति सेवा एकाइबाट प्रसूति सेवा प्रदान भइरहेको छ। रासस