काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मस्तिष्क पक्षघात भएका बालबालिकालाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन आउनुपर्ने बताएका छन्। यस्ता बालबालिकालाई मेडिकल उपचारभन्दा पनि औपचारिक ढंगबाट ज्ञान दिनुपर्ने उनले बताए।
नरेशकुमार प्रधानको मस्तिष्क पक्षघातसम्बन्धी जनचेतनामूलक गीतको श्रब्यदृश्य बुधबार सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले भने, ‘गर्भावस्थामा हुने सामान्य दुर्घटना वा औषधि सेवनको कारणले यस्ता बच्चा जन्मने गर्छन्। मस्तिष्क पक्षघात भनेको सवल मान्छेभन्दा केही फरक विचार आउनु हो, त्यसैले फरक क्षमता भएका यस्ता बालबालिकालाई पूर्वजन्मको पाप भनेर हेयको दृष्टिले हेर्ने काम नगरौं ।’
कार्यक्रममा चलचित्र विकास बोर्डका निर्देशक सरोज खनालले यस्ता बालबालिकामा हरेक दिन नयाँ सोच जगाउनेपर्ने बताए। उनले भने, ‘उनीहरुलाई मनोरञ्जन दिनु, खेलहरु खेलाउनु, हिँडडुल गराउनु अभिभावकको कर्तव्य हो।’
उक्त जनचेतनामूलक गीतमा गायक शिव परियारले स्वर दिएका छन्।