काठमाडौं– विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाली सदस्य राष्ट्रहरुको क्षेत्रीय बैठक बिहीबार काठमाडौंमा बस्यो। यो बैठक प्रत्येक वर्ष एक पटक बस्ने गर्छ। यस समितिमा दक्षिणपूर्वी एसियाली क्षेत्रका एघार राष्ट्रका सदस्यहरु रहेका छन्।
सो बैठकमा थाइल्यान्ड, भारत, इन्डोनेसिया, श्रीलंका, मालदिभ्स, भुटान, म्यानमार, टिमोर, बंगालादेश, कोरिया र नेपाल रहेका छन्। नेपालमै पहिलो पटक यस्तो बैठक भिडियो कन्फ्रेन्समार्फत बसेको हो। सो बैठक उपप्रधानमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको थियो ।
यी राष्ट्रहरुको स्वास्थ्य क्षेत्रको नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्न यो बैठक बस्ने गर्छ। दक्षिण कोरियाको पोङ्याङमा गर्ने भनिएको ७२औं बैठक विभिन्न कारणले नहुने भएकाले नेपालमा बसेको हो।
सो बैठकको समापन गर्दै मन्त्री यादवले विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाली सदस्य राष्ट्रका प्रतिनिधिले सक्रिय सहभागिता जनाएकोमा धन्यवाद दिँदै बैठक फलदायी भएको बताए।
कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बसेको यो बैठक सफलतापूर्वक र ऐतिहासिक रुपमा सम्पन्न भएको बताइन्।