कालिकोट– देश संघीय संरचनामा गएपछि दुर्गम जिल्ला कालिकोटको एक गाँउपालिकाले पहिलो पटक तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालनमा ल्याएको छ। गाँउपालिकामा नै स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन तालिमको आयोजना गरिएको हो।
स्थानीय तहसम्म स्वास्थ्य सेवा सर्वसुलभ गराउन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कालिकोटको पचालझरना गाँउपालिकामा रहेको राम्नाकोट स्वास्थ्य चौकीमा तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए।
स्वास्थ्य मन्त्रालय र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशिका र तालिम पाठ्यक्रमअनुसार देश संघीय संरचनामा गएपछि नेपालमा पहिलो पटक कालिकोटको पचालझरना गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई तालिम प्रदान गरिएको बताइएको छ।
तीन दिने तालिमको सहजीकरण पाठ्यक्रम परिमार्जन कार्यदलका सदस्य, परामर्शदाता तथा प्रमुख प्रशिक्षक दीपेन्द्र चौधरीले गरेका थिए। उनले स्थानीय तहको तथ्यमा आधारित योजना तर्जुमाको सात चरण सहितको यो तालिम प्याकेज संघीय संरचनापछि संचालन भएको पहिलो संस्था भएको उनले बताए।