सोलुखुम्बु- जमरकट्टेल वंश एकता प्रतिष्ठान विराटनगरको आयोजनामा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा चलेको तीन दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बुधबारदेखि शुक्रबारसम्म सञ्चालित शिविरमा २ हजार भन्दा बढीले उपचार सेवा पाएको प्रतिष्ठानले जानकारी दिएको छ।
निशुल्क शिविर गाउँपालिकाको नेचास्थित हिमाल दर्शन क्याम्पसको छात्रावासमा नोबेल मेडिकल कलेज विराटनगरका विशेषज्ञ चिकित्सकले सेवा दिएको प्रतिष्ठानका अध्यक्ष कुमार जमरकट्टेलले जानकारी दिए।
उनका अनुसार शिविरमा हाडजोर्नी, प्रसूती तथा स्त्रीरोगका धेरै बिरामीले उपचार सेवा लिएका छन्।
शिविरमा जनरल मेडिसिन, मुटुरोग, प्रसुति तथा स्त्रीरोग, बाल रोग, मानसिक तथा नशा रोग, हाडजोर्नी, छाला तथा यौन रोग, नाक, कान, घाँटी तथा दन्त, आँखा लगायतको सेवाका प्रदान गरिएको थियो।
