विराटनगर- विराट आँखा अस्पतालले अत्याधुनिक मेशिनको प्रयोगबाट रेटिनाको शल्यक्रिया शुरु गरेको छ।
अस्पतालले शुक्रबार यहाँ पत्रकार सम्मलनको आयोजना गरी तीन करोड लागतमा खरीद गरिएको उक्त मेशिनबाट सेवा शुरु गरेको जनाएको छ। अस्पतालका सञ्चालक राजेश प्रसाईंले उपचारका लागि आउने बिरामीमध्ये आँखाको पर्दा रेटिनाको शल्यक्रिया गर्नका लागि अन्य अस्पताल पठाउनु परेको समस्या अब अन्त्य भएको बताए।
अस्पतालले वार्षिक एक लाखलाई बहिरङ्ग सेवा र १६ हजार बिरामीको शल्यक्रिया गर्दै आएको छ। देशभरमा करीब ३५ वटा आँखा अस्पताल रहेकामा यस्तो सेवा धेरै कम अस्पतालले उपलब्ध गराएको उनले दाबी गरे। उक्त सेवाबाट प्रदेश नं १ का साथै छिमेकी भारतको विहार लगायतका क्षेत्रका बिरामीलाई पनि फाइदा पुग्ने अस्पतालको दाबी छ। अस्पताल विसं २०६८ फागुनदेखि सञ्चालनमा आएको हो। रासस