काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको छैटौं तला। ६ सय ३९ नम्बर शय्यामा सुतिरहेका छन्, मुगुका २१ वर्षीय विशाल बुम। छोरा विशालको घाउमा ड्रेसिङ गर्दै थिइन्, ६० वर्षीया आमा तारादेवी।
सुत्ने डसना कडा भएकाले लामो समयसम्म सुतिरहँदा विशालको शरीरभरि घाउ भएको छ। आमा तारादेवी विशालका घाउ सफा गर्छिन् र मल्हमपट्टी लगाउँछिन्। बिरामी छोराको एक मात्र सहारा बनेकी छिन् उनी। छोराले स्याहार गर्ने उमेरमा दिनरात नभनी छोराकै स्याहारमा खटिएकी छिन्।
तारादेवीलाई अस्पतालको आइसियू र प्रशासन माइतीघर र वार्ड आफ्नो घर जस्तै लाग्न थालेको छ। अस्पतालका स्टाफ र बिरामी आफ्नै दाजुभाइजस्तो लाग्छ उनलाई।
पीडा सहन नसकेर विशाल बेलाबेलामा झर्कोफर्को गर्छन्। कहिलेकाहिँ आमालाई नै पनि गाली गर्छन्। ‘मलाई मार्न यस्तो कडा ओछ्यान हालिस् भनेर गाली गर्छ,’ तारादेवीले दुःखेसो पोखिन्।
विशाल गाउँको बनमा दाउरा काट्न रुखमा चढ्दा रुखबाट खसेर घाइते भएका थिए। स्पाइनल इन्जुरी भएकाले ११ महिनादेखि राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्।
को हुन् विशाल बुम?
मुगु जिल्लास्थित साविक पिना गाविसका स्थाई घर भएका २१ वर्षीय विशाल कक्षा ८ मा पढ्दै थिए। गत जेठमा बुबाको मृत्यु भएकाले उनले जिल्लास्तरीय जाँच दिन पाएनन्।
विशालले बुबाको मृत्युपछि आमालाई काममा सहयोग गर्न थालेका थिए। बुबा छँदा बाख्रा चराउने काम आमा तारादेवीले गर्थिन्। त्यसपछि भने बाख्रा चराउन जाने कामको जिम्मा पनि विशालकै काँधमा आइपर्यो।
२६ वैशाख २०७५, सधैंझैं गाउँको भाइलाई लिएर विशाल बाख्रा चराउन बनमा गएका थिए। वनमा पुगेको मौकामा दाउरा काट्न रुखमा चढे, तर अचानक हात फुस्किएर रुखबाट लडे।
रुखबाट लडेर घाइते भएका विशाल हिंड्न सक्दैनथे। उनलाई सुरुमा जिल्ला अस्पताल ल्याइयो। जिल्ला अस्पतालका डाक्टरले स्पाइनलमा चोट लागेकोले अर्को अस्पतालमा लैजान भनेपछि उनलाई उनलाई नेपालगञ्ज ल्याइयो।
नेपालगञ्जमा रगत जाँच, सिटी स्क्यान, एमआरआई गरेपछि यहाँ उपचार हुन नसक्ने भन्दै विशाललाई काठमाडौं पठाइयो। नेपालगञ्जमै उपचारका क्रममा विशालकी आमा तारादेवीको १८ हजार रुपैयाँ सकियो।
राति १२ बजे ट्रमाको इमर्जेन्सीमा भर्ना
ऋण खोजेर छोरालाई एम्बुलेन्समा राखेर नेपालगञ्जबाट काठमाडौं राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गर्दा रातिको १२ बजेको थियो। तारादेवीले ऋण गरेर ल्याएको ४० हजारमध्ये २३ हजार एम्बुलेन्स तिरिसकेकी थिइन्। ‘काठमाडांैमा हाम्रा आफन्त कोही नभएकाले गर्भवती बुहारी र मैले अस्पतालको छिँडीमा रात बितायौं,’ तारादेवीले सुनाइन्।
अस्पतालले विशालको अपरेसन गरेको पैसा १ लाख २० हजार माग्यो। तर, तारादेवीसँग पैसा थिएन। आर्थिक अवस्था नाजुक भएको बताएपछि अस्पतालले छुट गरेर ७० हजारमा गरिदिने त भन्यो तर उनीसँग त्यति पैसा पनि थिएन।
‘छोराको औषधि र सासु–बुहारीलाई खाना खर्च जुटाउनै हम्मे परेको बेलामा कहाँबाट त्यत्रो पैसा ल्याउनु ?,’ उनले बताइन्। भर्ना भएको सात दिनमा अपरेसन गर्ने भने पनि पैसा अभावमा २५औं दिन छोराको अपरेसन भएको उनले बताइन्।
अपरेसन गरिसकेपछि अस्पतालले बिरामीलाई आइसियूमा राखिदियो तर तारादेवीसँग न त खाने खर्च थियो न त छोराको औषधि किन्ने पैसा नै। आइसियूमा राखेको बिरामीलाई अस्पतालले खाना दिँदैनथ्यो। ‘पैसा नहुँदा अरु बेडका बिरामीको खाना मागेर छोरालाई खुवाएँ,’ तारादेवीले भनिन्।
छोरालाई औषधि खुवाउने पैसा नहुँदा अस्पतालकै स्टाफसँग चन्दा उठाएर गर्जो टार्थिन् तारादेवी। ‘पैसा अभावमा चेकजाँचका लागि डाक्टरले दिएको पर्चा डस्टबिनमा फालिदिथें,’ तारादेवीले दुःखेसो पोखिन्।
छोराको उपचार खर्चका लागि तारादेवीले विभिन्न संघसंस्थालाई गुहारिन्। संघसंस्थाहरुले पटकपटक गरी ३ लाख रुपैयाँ सहयोग गरे। त्यो पैसाले उनले छोराको अपरेसनदेखि काठमाडौँ आउँदा ल्याएको ऋण र मेडिकल खर्च तिरेर सिध्याइन्। अहिले पनि छोराको औषधि खर्च र खानको लागि सहयोग मागेरै चलाइरहेकी छिन्।
सुत्केरी बुहारी आश्रमको जिम्मा
लडेर अस्पताल भर्ना भएदेखि नै श्रीमती र आमा दिनरात विशालको सेवामा खटिएका थिए। गर्भवती भएर श्रीमान्लाई छोडेर कतै गएकी थिइनन् उनकी श्रीमती। गत कात्तिकमा विशालकी श्रीमतीले छोरीलाई जन्म दिइन्। अस्पतालमा स्याहार नहुने देखेर तारादेवीले नातिनी र बुहारीलाई भक्तपुरस्थित एक आश्रमको जिम्मा लगाइदिइन्।
बुहारीसँग बेलाबेलामा फोनमा कुरा हुने गरेको तारादेवीले बताइन्। ‘नातिनी जन्मिएपछि एक पटक बुहारी भेट्न आएकी थिइन्, नातिनी सानी भएकाले इन्फेक्सन हुन्छ भनेर मैले नै अस्पताल नआउन भनेको छु,’ तारादेवीले भनिन्, ‘आश्रमले पनि नातिनीको भविष्य राम्रो बनाइदिन्छौँ भनेका छन्।’ कहिलेकाहीं छोराले श्रीमती बोलाइदेऊ भनेर जिद्धी गर्ने गरेको उनले बताइन्।
स्याहार पुगेन भन्छन् डाक्टर
लामो समय अस्पतालको बेडमा बस्नु परेकाले शरीरमा घाउ भएर विशालको स्वास्थ्यमा सुधार आउन सकेको छैन। आइसियूमा बस्दादेखि भएको घाउ अहिले शरीरका विभिन्न भागमा भएको छ। छोराको जिउको मासु सुक्दै गएकोमा गएकोमा चिन्तित छन् तारादेवी। ‘दिनरात नभनी स्याहार गरेको छु, तैपनि चिकित्सहरु स्याहार पुगेन भन्छन्। स्याहार गर्ने मान्छे राखौं भने भने पैसा छैन, के गरौं?’ तारादेवी भावुक हुन्छिन्।
विशालको शरीरभरि घाउ भएकाले दिनमा ५/६ पटकसम्म सफा गर्नुपर्छ। ‘कहिलेकाहीं सफा गर्दागर्दै खाना आउँछ, खाना थाप्ने फुर्सद नभएर भोकै बस्नुपर्छ’, उनी भन्छिन्। समयमा खाना नखाएर तारादेवीकै स्वास्थ्यमा समस्या देखिन थालेको छ। आराम नपुगेर उनका हातखुट्टा सुनिएका छन्।
दुई वर्षमा तीन जनाको मृत्यु
तारादेवीले दुई वर्षमा परिवारका तीन जना सदस्यलाई गुमाउनु परेको छ। मुटु र फोक्सोको समस्याले श्रीमान् गुमाएकी उनले त्यसको ७ महिना नबित्दै नाती गुमाउनुपर्यो। उनी आफैं पनि तातोपानीले पोलेर चार महिना अस्पताल बस्नुपर्यो।
‘म अस्पताल बसेर आएको एक महिना पनि नबित्दै छोरो लडेर यो हालत भयो,’ तारादेवीले आफ्ना बेदना सुनाइन्, ‘छोरो लडेर अस्पताल भर्ना गरेको ६ महिनामा जन्म दिने आमाले पनि छोडेर जानुभयो।’
तारादेवीले १२ वर्षदेखि परिवारका सदस्य र आफू बिरामी भएर अस्पताल बिताउनु परेको तितो अनुभव सँगालेकी छन्। श्रीमान् बिरामी हुँदा नेपाल र भारतमा गरी १० वर्ष अस्पतालमा बिताएकी तारादेवी विगत ११ महिनादेखि छोराको उपचारमा अस्पतालमा छिन्। ‘कुन पाप गरेछु कुन्नी, जिन्दगी अस्पतालमै बित्ने भयो,’ उनी भन्छिन्।