डा ज्वाला थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राख्दै आएकी डा थापालाई फिल्म हेर्न मन पर्छ। स्वास्थ्यखबरको शनिबारको नियमित कोलम जीवनशैलीमा उनीसँग बुनु थारुले फिल्मकै विषयमा केन्द्रित रहेर वार्ता गरेकी छिन् :
१. पहिलो फिल्म कहिले हेर्नुभएको थियो?
मलाई त्यति याद त छैन। तर म सानैदेखि फिल्म हेर्न रुचाउथेँ। पहिलो पटक म मम्मीबाबासँग रञ्जना हल या विश्वज्योति हलमा गएर फिल्म हेरेको जस्तो लाग्छ। नेपाली फिल्म नै हो। अलिअलि मात्र सिन याद छ। हलको स्क्रिनलाई कत्ति ठूलो टिभी रहेछ भनेर छक्क परेको थिएँ।
२. फिल्म हेर्न कत्तिको क्रेजी हुनुहुन्छ?
म त फिल्मको फ्यान नै हो। अहिले समय व्यस्तताले ७–८ महिना भयो फिल्म हेर्न पाएको छैन, मिस गर्छु। सानो हुँदा एक दिन साथीको जन्मदिन भनेर घरमा ढाँटेर फिल्म हेर्न गएको थिएँ। मैले हेरेको त्यो फिल्म ‘पुकार’ थियो। रमाइलो कुरा त के भयो भने फिल्मको मध्यान्तरमा अंकलसँग भेट भयो।
घरमा ढाँटेर आएको मान्छे अंकल देख्दा तर्सिएँ। घरमा कुरा लगाइदिनुहोला भन्ने डरले अंकललाई खुब फकाएँ। धन्न घरमा भन्दिनुभएन। तर हरेक पल्ट अंकल घरमा आउँदा त्यो कुराले मनमा ढुकढुक चाहिँ हुन्थ्यो। घरमा त्यसरी झुक्काएर धेरै पटक फिल्म हेर्न गएको छु।
मलाई फिल्म यति मनपर्छ कि, स्त्री तथा प्रसुति रोग विषयमा 'एमडी रेजिडेन्सी' गर्दा पनि पोस्ट ड्युटीका बेला साथीसँग मिलेर फिल्म हेर्न गइदिन्थेँ।
३. कस्ता फिल्म बढी मन पर्छन्?
म हिन्दी फिल्म बढी हेर्छु। नेपाली र अंग्रेजी पनि हेर्छु कहिलेकाहीँ। मलाई कमेडी तथा एक्सन फिल्म बढी मन पर्छन्।
४. फिल्म कसरी छनौट गर्नुहुन्छ?
विशेषगरी ट्रेलर तथा स्टारकास्ट हेरेर फिल्म हेर्न जान्छु। समीक्षा हेरेर पनि जाने गर्छु। विशेषगरी मलाई फिल्म रिलिज भएको १ या २ दिनभित्रै हेरिसक्नुपर्छ। नत्र पछि सबले त्यो फिल्मको बारे गाइँगुइँ गर्न थालेपछि झ्याउ लाग्छ।
५. अहिलेसम्म मनपरेका फिल्महरु?
हम आपके कौन
कबड्डी कबड्डी
मेन इन ब्ल्याक
हेराफेरी
एक्वामेन
जब वि मेट
६. कोसँग बढी हेर्न जानुहुन्छ?
साथीहरुसँग तथा परिवारसँग फिल्म हेर्न जान्छु। मलाई घरमा बसेर फिल्म हेरेको मन पर्दैन मलाई हलमै हेर्न जानुपर्छ।
७. अहिलेसम्म फिल्मको मनपर्ने पात्र?
मलाई जब वि मेटको चुलबुले करिना कपुरको पात्र याद आइरहन्छ। एकदमै प्रेरणादायी भन्ने फिल्म छैन।
८. मनपर्ने अभिनेता/अभिनेत्री नि?
मलाई सलमान खान मनपर्छ। उसको लुक्स र स्टाइल मनपर्छ। त्यसैगरी मेरो अलटाइम फेभरेट माधुरी दीक्षितको फिल्म पहिला नछुटाइ हेर्थेँ। अहिले चाहिँ आलिया भट्ट मन पर्छ।
त्यसैगरी नेपालीमा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीलगायतका कलाकार मन पर्छन्।
९. पछिल्लो पटक हेरेको फिल्म कुन हो?
राजकुमार रावको ‘स्त्री’।
१०.फिल्म हेर्दा झगडा वा त्यस्ता केही नमिठा अनुभव पनि छन् कि?
मलाई फिल्म सुरुदेखि नै हेर्नुपर्छ। कसैले गर्दा फिल्म ढिलो हुन पुग्यो, एक/दुई सिन छुट्यो भने म त्यो मान्छेको दिमाग खराब गराइदिन्छु। ५ मिनेट पनि छुट्यो भने त्यो सिन हेर्न पाइँन भने मुड अफ हुन्छ।
११. फिल्म हेर्न समय कसरी मिलाउनुहुन्छ?
फिल्म हेर्न त जसरी पनि समय मिलाइहाल्छु। रेजिडेन्सीको ड्युटीमा पनि नसुतिकन फिल्म हेर्न गएको छु।
१२. अहिलेसम्म दोहोर्याएर हेरेको फिल्म?
मैले अहिलेसम्म सबैभन्दा बढी पटक हेरेको फिल्म भनेको हेराफेरी हो। कति पटक हेरिसकेँ गनेको छैन। तर मलाई त्यो फिल्मको एकएक लाइन याद छ।
१३. फिल्ममा अहिले के परिवर्तन भएको जस्तो लाग्छ?
मलाई लाग्छ अहिले फिल्म पहिलेभन्दा राम्रो बनिरहेको छ। मनोरञ्जनात्मक हिसाबले पनि अब्बल पाएको छु। विषयवस्तु पनि राम्रो बोकेका फिल्महरु आइरहेका छन्।
१४. फिल्म किन हेर्नुपर्छ जस्तो लाग्छ?
मलाई लाग्छ फिल्म भनेको बेस्ट टाइमपास हो। फिल्म एउटा मनोरञ्जनको हिस्सा हो। परिवार या साथीभाइसँग एकछिन भएपनि राम्रो फिल्म हेर्दा रिल्याक्स भइन्छ, फ्रेस भइन्छ। समय मज्जाले बित्छ, रमाइलो हुन्छ। फिल्म हेर्ने बहानामा भेटघाट हुन्छ। त्यसैले मेरो विचारमा समयसमयमा फिल्म हेर्दै गर्नुपर्छ। यसले शारीरिकका साथै मानसिक तन्दुरुस्ती पनि सिर्जना गर्छ।