इलाम - चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
अनशनको तेस्रो दिन स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई केहीबेरअघि इलाम अस्पताल भर्ना गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरको नेतृत्वमा गएको टोलीले उनलाई अस्पताल पुर्याएको हो ।
डा. केसीले सरकार माग सम्बोधनप्रति उदासीन रहेको भन्दै गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । सरकारले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विषयमा चासो नदेखाएपछि अनशन बस्न बाध्य भएको उनको भनाइ छ ।
सत्याग्रहका क्रममा डा. केसीले चिकित्सा शिक्षालाई व्यापारिक स्वार्थको माध्यम बनाउन नहुनेमा जोड दिएका छन् । चिकित्सा शिक्षा नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र भएकाले यसको गुणस्तर, निष्पक्ष नियमन र सार्वजनिक स्वास्थ्य संस्थाको प्रभावकारी सञ्चालनमा कुनै सम्झौता गर्न नसकिने उनले बताएका छन् ।