काठमाडौं- नेपाली जडीबुटी लौठसल्लाबाट क्यान्सर उपचारमा प्रयोग हुने औषधिको कच्चा पदार्थ उत्पादन गर्दै आएको चितवनको जाइडिन बायोटेक लिमिटेडले औषधि व्यवस्था विभागबाट असल उत्पादन अभ्यास (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस–जीएमपी) प्रमाणपत्र प्राप्त गरेको छ।
चितवनको भरतपुर महानगरपालिका–१६, शरणपुरस्थित कम्पनीले क्यान्सर औषधिमा प्रयोग हुने सक्रिय औषधीय तत्त्व (एक्टिभ फार्मास्युटिकल इन्ग्रेडियन्ट्स–एपीआई) उत्पादनका लागि जीएमपी प्रमाणपत्र पाएको हो।
औषधि व्यवस्था विभागले गत अगस्ट २५ र २६ मा गरेको निरीक्षणका आधारमा कम्पनीलाई प्रमाणपत्र जारी गरेको हो। प्रमाणपत्रको म्याद सन् २०२८ अक्टोबर ८ सम्म रहेको छ।
प्रमाणपत्रमा एपीआईअन्तर्गत साइटोटोक्सिक्स औषधि वर्ग समावेश गरिएको छ। यसअन्तर्गत औषधिको उत्पादन, शुद्धीकरण, प्याकिङ, लेबलिङ, गुणस्तर परीक्षण र गुणस्तर सुनिश्चिततासम्बन्धी गतिविधि गर्न सकिने उल्लेख छ।
जाइडिन बायोटेकले नेपाली हिमाली क्षेत्रमा पाइने लौठसल्लो प्रशोधन गरेर क्यान्सर उपचारमा प्रयोग हुने औषधिका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्दै आएको छ। कम्पनीले अहिले प्याक्लिट्याक्सेल र डोसेट्याक्सेल उत्पादन गरिरहेको छ।
यी दुवै क्यान्सर उपचारमा प्रयोग हुने महत्त्वपूर्ण औषधीय तत्त्व हुन्। विशेषगरी स्तन, डिम्बाशय र फोक्सोको क्यान्सरलगायतका उपचारमा प्रयोग हुने केमोथेरापी औषधि बनाउन यिनको प्रयोग हुन्छ।
कच्चा पदार्थ भारत निर्यात, १ अर्ब ३० करोड लगानी
करिब एक अर्ब ३० करोड रुपैयाँको संयुक्त लगानीमा स्थापना भएको उद्योगले नेपालमै क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन गरी भारत निर्यातसमेत सुरु गरिसकेको छ।
उद्योगका संस्थापक अध्यक्ष डा. जी नारायणबहादुर क्षेत्रीका अनुसार कम्पनीले अत्याधुनिक उपकरण जडान गरी कच्चा पदार्थ उत्पादन थालेको हो। कम्पनीले उत्पादन गरेको प्याक्लिट्याक्सेल भारत निर्यात गरिसकेको उनले बताएका छन्।
उनका अनुसार क्यान्सर औषधिको कच्चा पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिकिलो करिब ८ लाखदेखि २५ लाख रुपैयाँसम्म पर्छ। कम्पनीले आगामी दिनमा पाकिस्तान, बंगलादेशलगायत एसियाली मुलुकमा समेत निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ।