काठमाडौं- बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयमा सुरु भएको विवादले शनिबार हिंसात्मक रूप लिएपछि क्षेत्र तनावग्रस्त बनेको छ। अस्पतालमा आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था नगरी उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध गरेपछि सुरु भएको विवादमा तोडफोड, आगजनी र गोली प्रहारसम्मको घटना भएको हो।
झडपका क्रममा गोली लागेर स्थानीय १८ वर्षीय आदित पासवान गम्भीर घाइते भएका छन्। उनको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ। अवस्था नियन्त्रणमा लिन जिल्ला प्रशासनले थप सुरक्षाकर्मी परिचालन गरेको छ भने कर्फ्यु लगाउने विषयमा छलफल भइरहेको छ।
अस्पतालमा सेवा सुरु नभई उद्घाटन गर्न खोजिएको भन्दै विरोध
गाउँपालिकाले शनिबार दिउँसो १ बजे नवनिर्मित अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री एवं सांसद समीक्षा बास्कोटा कार्यक्रमको प्रमुख अतिथि थिइन्।
तर, अस्पतालमा विद्युत् जडान, आवश्यक चिकित्सा उपकरण, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था नभएको भन्दै स्थानीयले उद्घाटनको विरोध गरेका थिए। उनीहरूले पहिले अस्पताल सञ्चालनका लागि आवश्यक सेवा, सुविधा र जनशक्ति सुनिश्चित गर्नुपर्ने माग राखेका थिए।
अस्पताल निर्माणमा संघीय सरकारको लगानी रहे पनि त्यसको जस लिने विषयमा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र विपक्षी दलका स्थानीय नेता–कार्यकर्ताबीच विवाद रहेको बताइएको छ। यही राजनीतिक विवादका बीच उद्घाटन कार्यक्रमलाई लिएर असन्तुष्टि चुलिएको थियो।
विरोधका क्रममा प्रदर्शनकारीले उद्घाटनका लागि राखिएको शिलालेख र टेन्टमा तोडफोड गरेपछि दुई पक्षबीच झडप सुरु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
शिलालेख तोडफोडपछि झडप र आगजनी
विवाद चर्किनुको अर्को कारण अस्पताल निर्माणको जस कसले लिने भन्ने राजनीतिक प्रतिस्पर्धा रहेको बताइएको छ। संघीय सरकारको लगानीमा निर्माण भएको अस्पतालको उद्घाटनलाई लिएर गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र विपक्षी दलका स्थानीय नेता–कार्यकर्ताबीच विवाद देखिएको थियो।
उद्घाटन कार्यक्रमका लागि राखिएको शिलालेख र टेन्टमा प्रदर्शनकारीले तोडफोड गरेपछि अध्यक्ष पक्षधर र विपक्षी स्थानीयबीच झडप भएको थियो। झडप बढ्दै जाँदा कार्यक्रमस्थलमा पार्किङ गरिएका करिब १० वटा मोटरसाइकलमा आगजनी भएको छ। अस्पताल भवनमा समेत तोडफोड र ढुङ्गामुढा भएको विवरण सार्वजनिक भएका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले गोली चलाएको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले बताएका छन्।
उनका अनुसार प्रहरीले भीड नियन्त्रण गर्न हवाई फायर गरेको थियो। तर, गोली लागेर एक युवक घाइते भएका छन्। उनलाई लागेको गोली कुन स्रोतबाट प्रहार भएको हो भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।