मलेरिया रोग किटजन्य अर्थात् लामखुट्टेबाट सर्ने रोग अन्तर्गत पर्छ। तर यो किटजन्य रोग मात्र पनि होइन भनेर कतिलाई थाहा नहुन सक्छ। मलेरियाको संक्रमित लामखुट्टेको टोकाइबाट मात्र नभई रगतबाट पनि सर्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन्। यसका अनुसन्धानहरु धेरैजसो अफ्रिकी मुलुकहरुमा गरिएका छन् भने दक्षिण अमेरिकी र एसियामा खासै अनुसन्धान भएको पाइँदैन।
हुन त मलेरिया सामान्यतया संक्रमित लामखुट्टेको टोकाइबाट सहज र धेरै सर्ने हो तर पछिल्लो समयमा रक्तदान गरिएका रगतहरुको परीक्षण गर्दा मलेरियाका परजीवी प्रशस्त मात्रामा हुने देखाएको छ, जुन मलेरिया उन्मुलनको लागि नया चुनौती भएर खडा भएको देखिन्छ।
सन् २०१८ अप्रिल १५–२० मा अफ्रिकाको सेनेगलमा आयोजित सातौं मल्टिल्याटरल इनिसिएटिभ अन मलेरियासम्बन्धी कन्भेन्सनमा यससम्बन्धी अनुसन्धानको प्रस्तुतिकरण गरिएको थियो। यो अनुसन्धानमा सम्मिलित एक अनुसन्धानकर्ताको भनाइ अनुसार यसको अध्ययन सन् २००० देखि २०१७ सम्म गरिएको थियो र यसमा सब-शहरा अफ्रिकी अन्तर्गत पर्ने मुलुकहरुबाट २२,५०८ रक्तदाताबाट लिएको रगतको परिक्षण गरिएको थियो।
चाखलाग्दो तर अचम्मित कुरा के थियो भने ती रगतका पोकाहरुमध्ये झन्डै ७४ प्रतिशतसम्ममा मलेरियाका परजीवी पाइएको थियो र ती सबै रगतहरु पहिले द्रुत मलेरिया पहिचान गर्ने किटहरुको प्रयोग गरिएको थियो जसमा मलेरिया नेगेटिभ भएको देखाएको थियो। अनुसन्धानकर्ताहरुले अफ्रिकी मुलुक बाहेक अरु ठाउँहरुमा यस्तो समस्या भएनभएको अनुसन्धानहरु हुनुपर्नेमा विशेष जोड दिएका थिए।
नेपालमा विशेषगरी सुदूरपश्चिमाका कैलाली, कञ्चनपुर लगायत तराईका अरु भू -भागहरुमा मलेरिया बढी देखिने भएकोले त्यहाँका ब्लड बैंकहरुले पनि विशेष ध्यान पुर्यारउनुपर्ने देखिन्छ।
त्यस्तै मलेरिया धेरै हुने ठाउँहरुमा पुगेको वा भर्खरै मलेरियाको उपचार गरेको हो वा होइन भन्ने खालको प्रश्न पनि रक्तदाताले रगत दिनुभन्दा अगाडि भर्नुपर्ने फारममा समावेश गर्नुपर्ने वा मौखिक रुपमा भए पनि सोध्दा उपयुक्त हुनेछ।
अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार संक्रमित भई उपचार गरेको ३ (तीन) वर्षपछि मात्र त्यस्ता व्यक्तिले रक्तदान गर्न सक्नेछन्। नेपालले सन् २०२६सम्ममा मलेरियामुक्त देशको परिकल्पना गरेको छ र यो लक्ष्य पूरा हुनमा यस्तो नयाँ चुनौती बाधक हुनसक्ने देखिन्छ।
तसर्थ यसको लागि अहिलेदेखि नै मलेरिया उच्च जोखिम जिल्लाहरु रहेका ब्लड बैंकहरुबाट मलेरिया स्क्रिनिंगको योजना बनाई सुरुआत गर्न सकिने छ र क्रमश नेपालका सबै ब्लड बैंकहरुमा लागू गरे सन् २०१६ सम्ममा मलेरियामुक्त देशको परिकल्पना साकार गर्न ठूलो मदत मिल्नेमा दुईमत देखिँदैन।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)