काठमाडौं– ‘पिंक ड्रेस लगाएको सिस्टरलाई बोलाइदिनुस् न, उहाँले राम्रोसँग बुझाउनुहुन्छ।’
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका कर्मचारीलाई एक गर्भवतीले आग्रह गरिन्।
ती गर्भवतीले पिंक ड्रेस लगाएको सिस्टर भनेर दक्ष प्रसूतिकर्मी (मिडवाइफ्री) लाई बोलाउन आग्रह गरेकी थिइन्। अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को मिडवाइफ्री तेस्रो वर्षमा अध्ययनरत छात्राहरु केही समयदेखि काम गर्दै आइरहेका छन्।
अस्पतालमा उनीहरुले गर्भवतीलाई गरेको मायालु व्यवहार, स्याहार र नम्र बोलीका कारण गर्भवती तथा सुत्केरी महिलाको रोजाइमा परेका हुन्। अस्पतालका अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीको भन्दा मिडवाइफ्री अध्ययनरतको ड्रेस फरक छ। उनीहरु पिंक रङको लुगामा बिरामीको सेवामा खटिइरहेका हुन्छन्।
त्यही कारण उनीहरुको परिचय नै बनेको छ, पिंक कलर लगाउने सिस्टर।
अस्पतालमा बिरामीको तर्फबाट पाएको मायापछि पुलकित भएकी छिन् मिडवाइफ्री तेस्रो वर्षमा अध्ययनरत सविता खड्का। न्याम्समा मिडवाइफ्री अध्ययनरत १५ जनामध्ये उनी पनि एक हुन्। आगामी मंसिरमा उनीहरुको अध्ययन सकिने छ।
सवितालाई नर्सिङ अध्ययनकै क्रममा मिडवाइफ्री विषयले आकर्षित गरेको थियो। तर, त्यतिबेला नेपालमा उक्त विषय अध्ययन गर्ने व्यवस्था नै थिएन।
‘सानो शिशु र आमासँग काम गर्न निकै मन पर्छ, अहिले बर्थिङ सेन्टरमा गर्भवती र सुत्केरीले गरेको व्यवहारले यो विषय पढेर राम्रो गरें भन्ने लाग्छ,’ उनले खुसी हँुदै सुनाइन्।
नर्सिङ पढाइपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति वार्डमा दुई वर्ष काम गरेकी थिइन् उनले।
त्यहाँ काम गर्दा उनलाई गर्भवतीको अवस्था देख्दा निकै माया लाग्थ्यो।
विगत सम्झँदै भन्छिन्, ‘जुम्लाका अधिकांश महिला घरमा नै बच्चा जन्माउने गर्छन्। अस्पतालमा मुस्किलले आइपुगेका महिलाको स्वास्थ्य पनि निकै नाजुक हुन्थ्यो।’
कामकै सिलसिलामा नेपालमा मिडवाइफ्रीको पढाइ सुरु हुने खबर सुनेपछि उनी निकै खुसी भइन्। भन्छिन्, ‘हर्षले खुट्टा भुइँमा नै थिएनन्।’
उनको रहरबारे साथीहरु पनि जानकार थिए। मिडवाइफ्री पढाइ हुने सूचना सार्वजनिक हुनासाथ सबैले पढाइ हुने भयो भनेर म्यासेज गरेका थिए।
मिडवाइफ्री तेस्रो वर्षमा पुग्दासम्म आफूमा निकै ठूलो परिवर्तन आएको महसुस गरेको उनी बताउँछिन्। अझ बढी जिम्मेवारी थपिएको अनुभव गरेकी छिन् उनले।
नर्स भएर पहिलो पटक अस्पतालमा काम गर्न जाँदा धेरै क्षमता विकास भएको थिएन सवितामा।
भन्छिन्, ‘अन्य सिस्टरले जसरी काम गर्नुहुन्थ्यो त्यस्तै गर्थें। बिरामीसँग जस्तो व्यवहार गर्नुहुन्थ्यो, मैले पनि त्यस्तै गर्थें। सेवा लिन आएका गर्भवतीलाई सम्मान गरेर सेवा दिनुपर्छ भन्ने कुरा थाहा थिएन।’
कुराकानीबाट विश्वास जित्न सकियो भने मात्र गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कुरा मिडवाइफ्री पढिसकेपछि मात्र थाहा भयो, सविता र उनका साथीलाई ।
गर्भवतीलाई गरिने व्यवहारले धेरै फरक पार्दोरहेछ भन्ने कुराको चेतना अहिले आएको सविता बताउँछिन्।
ड्युटी सिध्याएर घर जान लाग्दा उनलाई सेवाग्राहीले घर नजान आग्रह गर्छन्। ‘सेवाग्राहीले यस्तो सम्मान गर्दा निकै खुसी लाग्छ,’ उनी भन्छिन्, ‘मैले राम्रो सेवा दिएको रहेछु भनेर गर्व लाग्छ।’
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमै जान्छिन्, तेस्रो वर्षमा अध्ययनरत सुप्रभा श्रेष्ठ।
पहिलो ‘ब्याच’ की सुप्रभा सबैले आशा र विश्वास राखेकाले आफूमाथि ठूलो जिम्मेवारी थपिएको महसुस भएको बताउँछिन्।
मिडवाइफको क्षमता विकासमा सरकार र सरोकारवाला संस्थाहरुले ध्यान दिनुपर्ने उनको भनाइ छ।
कुनै बेला छुच्ची नर्सको ट्याग लाग्ला भनेर प्रसूति वार्ड छिर्दा रोएकी रुक्मणी त्रिपाठी अहिले मिडवाइफ बन्न पाउँदा दंग छिन्।
‘गर्भवतीलाई अरुले जस्तै व्यवहार आफूले पनि गर्नपर्ला भन्ने डरले रोएकी थिएँ। अहिले अवस्था त्यस्तो छैन। उहाँहरुले मलाई निकै माया गर्नुहुन्छ,’ उनी भन्छिन्।
न्याम्सको नर्सिङ कलेजमा मिडवाइफ्री अध्ययन गरिरहेका छात्राहरु स्टाफ नर्स हुँदा गर्भवती महिलालाई आफैं गरेको व्यवहार सम्झिएर अहिले पछुतो लाग्ने गरेको बताउँछन्।
‘पहिले ठूलाले गरेको व्यवहार सिको गरेका थियौँ, अहिले गर्भवतीसँग ठूलो स्वरमा किन कराएछौैं भन्ने सम्झेर नराम्रो लाग्छ,’ उनीहरु भन्छन्।
नर्सिङ पढाइमै म्याटरनिटी केयर कोर्ष राखिदिने हो भने अब आउने नर्सहरुको व्यवहारमा परिवर्तन आउने उनीहरुको अनुभव छ।
सकिला चौलागाईंलाई स्टाफ नर्समा भएर काम गर्दा बच्चा जन्माउन अस्पताल आएका महिलालाई सम्मान गर्नुपर्छ भन्ने थाहा नै थिएन ।
उनी भन्छिन्, ‘मलाई सुत्केरी हुन स्वास्थ्य संस्था आएका गर्भवतीलाई नम्र व्यवहार दर्साउनुपर्छ भन्ने नै सिकाइएको थिएन,’ उनले भनिन्, ‘कतिपय महिलाले प्राइभेट अंग जाँच गर्न नदिँदा रिस उठ्थ्यो, मिडवाइफ्री पढेदेखि उनको शरीरमा उनकै अधिकार हुन्छ, उनीहरुको विश्वास जितेर उपचार गर्नुपर्छ भन्ने सिकियो।’
प्रसूति गृहमा काम गरिरहेका उनीहरुलाई गर्भवती महिलाहरुले दर्शाएको सम्मान र मायाले थप हौसला प्रदान गरेको छ।
पुराना नर्सहरुको नयाँ नर्सको व्यवहारमा आएको परिवर्तन देख्दा सेवा लिन आउने गर्भवतीहरु अचम्ममा पर्ने गरेको उनीहरुको अनुभव छ।
पढाइ सकिन लागेको अवस्थामा क्षमता विकासका लागि सहयोग पाउने हो भने सेवा दिन तयार रहेको प्रसूतिमा काम गरिरहेका नर्सहरु बताउँछन्।
सरकारले पहिलो मिडवाइफ्री ब्याचलाई केन्द्रीय अस्पतालमा व्यवस्थापन गर्ने जनाएको छ।
मिडवाइफ्री सोसाइटी अफ नेपालका पूर्वअध्यक्ष प्रा किरण बज्राचार्य नेपालमा करिब ९ हजार मिडवाइफ्रीको आवश्यकता रहेको बताउँछिन् ।
नेपालमा मिडवाइफ्री
नेपालमा तीन वर्षअघि मिडवाइफ्रीको पढाइ सुरु भएको हो। सरकारले पेशागत मिडवाइफ (प्रसाविका) को विकास गर्न सन् २००६ मा दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो।
मिडवाइफ्री जनशक्ति तयार गर्न दर्जनौं बैठक तथा अन्तक्र्रिया भए पनि त्यसको व्यावहारिक कार्यान्वयन भने निकै ढिलो सुरु भएको थियो। त्यसपछि मिडवाइफ्री जनशक्ति तयार गर्न छुट्टै पाठ्यक्रमअनुसार अध्यापन प्रारम्भ गरियो।
अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको वीर अस्पताल नर्सिङ क्याम्पस र काठमाडौं विश्वविद्यालय धुलिखेलबाट १५ जनाले मिडवाइफ्रीको अध्ययन गरिरहेका छन्। आगामी मंसिरमा उनीहरु मिडवाइफ भएर निस्कने छन्।
पूर्व अध्यक्ष बर्जाचार्य गुणस्तरीय सेवाको अभावमा गर्भवती र नवजात शिशुको अकालमा हुने मृत्युदर रोक्न मिडवाइफ्रीले ठूलो भूमिका खेल्ने भएकाले जनशक्ति बढाउनुपर्ने बताउँछिन्।
मिडवाइफ्री सोसाइटी अफ नेपालका अध्यक्ष डा लक्ष्मी तामाङ सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध नभएका दुर्गम र ग्रामीण क्षेत्रका गर्भवती हुने उमेरका महिला, गर्भवती तथा सुत्केरीका लागि मिडवाइफले सेवा दिनसक्ने बताउँछिन् ।
चिकित्सकको उपलब्धता नहुने स्थानमा दक्ष मिडवाइफले ठूलो राहत पु¥याउनसक्ने उनको भनाइ छ।
अहिले ठूलो संख्यामा गर्भवती घरमै सुत्केरी हुने भएकाले आमा र नवजात शिशुको मृत्युदर रोक्न सरकारलाई चुनौती छ।