बर्ड फ्लु भाइरस मानिसमा फैलिएला? यो प्रश्न आफैंमा भविष्यसँग सम्बन्धित भए पनि वर्तमान अवस्थालाई आधार मानेर सम्भावनाका अनुमानहरु भने गर्न सकिन्छ। र, यसैको आधारमा योजनाहरु पनि बनाउनुपर्ने हुन सक्छ।
केही हप्ता अगाडि २१ वर्षीय युवाको मृत्यु बर्ड फ्लु अर्थात् 'एच फाइब एन वान' भाइरसको कारणले भएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो। जुन सबैको लागि अस्वभाविक, अचम्मित तर आतंकित पार्ने घटना थियो।
यसको प्रत्यक्ष असर कुखुरा व्यापारमा परेको देखिन्छ। 'एच फाइब एन वान' भाइरस सन् २००९ देखि नेपालमा पक्षीहरुमा देखापर्दै आए तापनि मानिसमा संक्रमण भई मृत्यु भएको नेपालको लागि यो नै पहिलो घटना थियो। यसले तातो बहस तर केही गम्भीर प्रश्नहरु खडा गरिदिएको छ, र यो आवश्यक पनि छ।
के अब बर्ड फ्लु 'एच फाइब एन वान' भाइरसले मानिसमा प्रकोपको रुप लेला? यस्तो अवस्थामा हामी कति तयारी अवस्थामा छौं? के अरु बर्ड फ्लुका भाइरसहरु नेपालमा छन्? बर्ड फ्लुले प्रकोपको रुप लिएमा स्वास्थ्य क्षेत्रमा कस्तो असर पर्ला?
बर्ड फ्लु 'एच फाइब एन वान' भाइरसले सन् १९९७ मा पहिलो पटक मानिसलाई संक्रमण गरेको वा मृत्यु गराएको थियो। तत्पश्चात् हालसम्म यो भाइरसको कारणले सयौं मानिसको मृत्यु भइसकेको छ। यसबाट पक्षीबाट मानिसमा पनि सर्नसक्छ वा सरेको अनुमान गर्न सकिन्छ। मानिसबाट मानिसमा भने सजिलै सर्ने गरेको ठोस प्रमाण त छैन, तर विश्व स्वस्थ्य संगठनमा संग्रहित संक्रमितहरुको इतिहास राम्ररी नियालेर हेर्ने हो भने सम्भावनाका कुरा नकारेको पनि पाइँदैन।
दुई महिना अगाडि यो पंक्तिकारले एउटा लेख प्रकाशित गरेको थियो, जसमा एकै घरका केही सदस्यमा उनीहरुले पालेको कुखुरामा रुघा खोकीका लक्षणसहित हरेक दिन सयौंको संख्यामा मर्न थालेपछि फ्लु जस्तो लक्षणहरु देखा परेका वर्णन गरेको थियो। उनीहरुको रोगको इतिहास हेर्दा पहिला बुहारी बिरामी भएको र सो बुहारीको हेरचाह गर्न सासु जाँदा उसमा पनि फ्लुको जस्तो लक्षण विकसित भएको र उपचारको लागि यो पंक्तिकारकोमा आइपुगेका थिए।
यसलाई गहिरिएर विश्लेक्षण गर्ने हो भने बुहारीबाट सासुलाई सरेको देखिन्छ अर्थात् मानिसबाट मानिसमा सरेको जस्तो देखिन्छ। यसको प्रयोगशाला निदान गर्न नसकेता वा सम्भव नदेखिए तापनि दैनिक सयौंको संख्यामा कुखुरा मर्नु र सँगसँगै उनीहरुमा फ्लु जस्तो लक्षणहरु देखिनु संयोग मात्र थियो भनेर भन्ने आधार पनि देखिंदैन।
अर्को शब्दमा भन्नुपर्दा कुखुराबाट संक्रमण मानिसमा र सो संक्रमण मानिसबाट मानिसमा सरेको जस्तो देखिन्छ। हालै स्वास्थ मन्त्रालयले सार्वजनिक गरेको बर्ड फ्लु केसले पनि यो पंक्तिकारको आशंकालाई अरु बढावा दिएको देखिन्छ।
केही दिनअघि मात्र काठमाडौंको स्वयम्भूमा आफैंले पालेका कुखुराहरुको अचानक मृत्यु भएको र तत्पश्चात कुखुरा पाल्ने कृषक आफैंलाई पनि अचानक उच्च ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र छातीमा निमोनिया देखिन थालेपछि अस्पताल आइपुगेका थिए। उसलाई तुरुन्त ओसेलटामिभिर औषधि (फ्लुमा दिने एन्टिभाइरल औषधि) दिएपछि विस्तारै सुधारोउन्मुख हुँदै आएको देखिन्छ। यसमा पनि बर्ड फ्लु भाइरसको संक्रमणलाई सिधै नकार्न सकिंदैन यद्यपि भाइरस निश्चित हो भन्न प्रयोगशाला निदानको आवश्यकता पर्छ।
सरसर्ती यी माथिका सबै घटनाक्रमलाई नियाल्ने हो भने नेपालमा बर्ड फ्लु भाइरस पक्षीबाट मानिसमा सर्दैन भनेर ढुक्क हुने अवस्था भने देखिंदैन। हामी बर्ड फ्लु भाइरस फैलिइसकेको अवस्थामा भए पहिचान, उचार र नियन्त्रणको लागि पूर्ण तयारी अवस्थामा पनि छैनौं। किनभने यस्तो अवस्थाको घटनाको परिकल्पना योभन्दा पहिले कहिल्यै गरेका थिएनौं।
अब भने विस्तृत योजनाका साथसाथै आवश्यक पूर्वाधारहरुको विकास गरी सोअनुरुप जनशक्ति पनि तयार गर्नुपर्ने देखिन्छ। यसमा 'वान हेल्थ' को अवधारणा अगाडि सर्न सकिन्छ, जसमा चिकित्सक वा नीति–निर्माता बाहेक पशु चिकित्सक, वातावरण विज्ञ आदिको सामूहिक कार्यको परिकल्पना गरिएको हुन्छ।
छिमेकी देश चीनमा सन् २०१३ देखि नै बर्ड फ्लुको अर्को भाइरस 'एच सेभेन एन नाइन' देखापर्दै आइरहेको र सो संक्रमणबाट बर्सेनी मानिसको मृत्यु पनि बढ्दै गएको चिनियाँ स्वास्थ मन्त्रालयको तथ्यांकले देखाउँछ। नेपालमा यसको अवस्था अज्ञात नै भए तापनि केही वर्षयता नेपालीको बढ्दो नेपाल-चीन आवतजावतले यो भाइरसको पनि जोखिम बढाएको देखिन्छ। यसको पनि अनुसन्धान गर्न जरुरी भइसकेको छ।
त्यस्तै सन् २०१७ मा पहिलो पटक 'एच फाइब एन एइट' भाइरस पनि नेपालमा भित्रिसकेको छ। अर्थात् नेपालमा बर्डफ्लु 'एच फाइब एन वान' भाइरसबाट मात्र जोखिम नभई नेपाल भित्रिसकेका अरु विभिन्न बर्ड फ्लुका भाइरसको जोखिम पनि उत्तिकै देखिन्छन्। तसर्थ बर्ड फ्लु प्रकोपको अवस्थामा विशेष गरेर पक्षीपालक, पक्षी ओसारपसार गर्ने, पक्षी बेच्ने, पक्षी बजारमा गइराख्ने र पक्षी वध गर्नेहरुले सतर्कता अपनाउनुपर्छ र लक्षणहरु देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।
बर्ड फ्लु भाइरस आजको मितिसम्म मानिसबाट मानिसमा सजिलै सरेको ठोस आधार त देखिंदैन, तर आगामी दिनहरुमा त्यस्तो नहोला भनेर ढुक्क हुने अवस्था पनि देखिंदैन। वैज्ञानिकहरु बर्ड फ्लु भाइरसले कुनै दिन मानिसबाट मानिस सजिलै सर्न सक्नेगरी आफूलाई विकसित गर्न सक्नेमा चिन्तित भएको पाइन्छ।
यसको ज्वलन्त उदाहरण भनेको कुनै समय सुँगुरमा मात्र देखिने 'एच वान एन वान पिडिएम ०९' अर्थात् स्वाइन भनेर चिनिने भाइरस हो, जुन हाल आएर हरेक सिजनमा मानिसबाट मानिसमा सजिलै सर्ने गरेको छ।
हुन त बर्ड फ्लु भाइरसहरुबिरुद्ध विश्व नै लागिपरेको छ, तर नेपालले अरुलाई पर्खेर हेर्नुभन्दा पनि आफूसँग भएका स्रोत साधनको आधारमा विशेष योजनाहरु बनाउनु अति आवश्यक छ। किनभने बर्ड फ्लु 'एच फाइब एन वान' भाइरसले मानवीय क्षति पुर्याफइसकेको हुनाले फेरि कुनै पनि समयमा देखा नपर्ला भन्न सकिंदैन।
यो संक्रमणको मृत्युदर अति उच्च (कम्तीमा पनि साठी प्रतिशत) भएको र मानिसमा यसले प्रकोपको रुप लिए सहजै नियन्त्रण गर्न सजिलो हुने छैन।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)