जाडो अथवा गर्मी जुनुसकै मौसम होस्, खाना हाम्रो आधारभूत आवश्यकता हो। तर सन्तुलित खाना खानु कला हो। कुनै एक वा दुई खानेकुरा खाएर पनि भोक त टार्न सक्छौ र यसबाट शरीरका लागि चाहिने धेरै पौष्टिक तत्व प्राप्त गर्न सक्छौं। तर शरीरका लागि चाहिने पर्याप्त पौष्टिक तत्व पूर्ति गर्न ५ खाद्य समूह (१.अन्न समूह २.दाल तथा गेडागुडी समूह ३.फलफूल र तरकारी समूह ४.माछा, मासु, दुध, दही समूह ५.तेल, घ्यू, चिनी समूह) सन्तुलित मात्रामा खानामा समावेश गर्नुपर्छ।
प्रकृतिले नै हाम्रा लागि कुन मौसममा कस्ता खानेकुरा खानु उपयुक्त हुन्छ भनेर विभिन्न मौसममा विभिन्न खाद्यवस्तुको उत्पादन वरदानस्वरुप दिएको छ। कृषिको विकाससँगै विभिन्न बेमौसमी खानेकुरा पनि बजारमा उपलब्ध छन्। तर मौसम अनुसारका खाद्यवस्तु खानामा समावेश गर्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ। गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी बग्ने हुनाले शरीरलाइ शितलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानु आवश्यक हुन्छ।
गर्मीयाममा पाइने खरबुजा, तरबुजा, मेवा, प्याज, पुदिना, कागती, काँक्रो, काँचो आँप, मकै र अन्य हरिया सागपात तथा तरकारीहरूमा एन्टिअक्सिडेन्ट, एन्टिहिटस्ट्रोक तथा शितलता प्रदान गर्ने तत्व रहेको हुन्छ। त्यस्तै नरिवलको पानी, ताजा फलफुलको जुस, दही र मोहीले शरीरमा तापक्रम र पानीको मात्रा सन्तुलन राख्नुका साथै शरीरलाई चाहिने शक्तिको प्रबन्ध पनि गर्छ। त्यसकारण गर्मी मौसममा यी खानेकुरा खानामा समावेश गर्नु उपयुक्त हुन्छ।
जाडो महिनाको तुलनामा गर्मीमा मानिसलाई खानामा रुची कम हुन्छ। त्यसले गर्दा धेरैलाइ कमजोर महसुस पनि हुनसक्छ। गर्मीका बेला खानामा रुची कम हुनाको कारण शरीरमा शक्तिको आवश्यकता नै कम हुनु हो। जाडो महिनामा शरीरको तापक्रमभन्दा बाहिरी तापक्रम चिसो भएको कारणले शरीरको बाहिरी भाग र मांशपेशी पनि चिसो हुन्छ। शरीरको बाहिरी भाग र मांशपेशी तातो राख्न तथा मांसपेशीको कार्य सुचारु राख्न शक्तिको खर्च बढी हुन्छ। त्यसकारण जाडोमा खानामा रुची बढी हुन्छ।
गर्मीमा बाहिरी तापक्रम नै बढी हुन्छ र शरीरको बाहिरी भाग र मांसपेशी तातो बनाउन शक्तिको खर्च हुँदैन। त्यसकारण शक्तिको आवश्यकता नै कम हुन्छ र कम रुची हुन्छ। तर खाना खान मन लागेन भन्दैमा केही नखानुभन्दा शरीरलाई शितलता दिने र शक्ति दिने खाना जस्तै ताजा फलफूल, जुस, दही वा महीको लस्सी, नरिवल पानी, कागतीको जुस आदि खानाका साथै बीच–बीचमा खानुपर्दछ।
गर्मी महिनामा पिरो वा अमिलो खानेकुरा सबैलाई मन पर्छ। पिरो वा अमिलो खानेकुरा जिब्रोका लागि स्वादिष्ट वा ताजा महसुस गर्न खाने गरिन्छ। यस्ता खानेकुराले गर्मीको समयमा बाहिरी तापक्रमअनुसार शरीरको भित्री तापक्रम पनि बढाइ सन्तुलन गराउने काम गर्दछ।
अमिला खानेकुराहरू (कागती वा अन्य फलफुल) र पिरो (हरिया खुर्सानी) ले हाम्रो शरीरका लागि आवश्यक अन्य पौष्टिक तत्व पनि प्रदान गर्दछ। ताजा खाद्य स्रोतबाट प्राप्त अमिलो वा पिरो खानेकुराले स्वस्थ मानिसको स्वास्थ्यमा कुनै असर गर्दैन तर विभिन्न रोगको समस्या छ भने पोषणविद्सँग परामर्श गरेर मात्र खानु उपयुक्त हुन्छ। तर धुलो खुर्सानी र धेरै मसला प्रयोग गरेर बनाएका खानेकुरा, प्लाष्टिक र टिनमा प्याक गरिएका अचार वा अन्य खानेकुराले भने स्वास्थ्यमा नराम्रो असर गर्दछ।
खानाबिना हामी केही दिन बाँच्न सक्छौं, तर पानी विना केही क्षण पनि बाँच्न कठिन हुन्छ। पानीको विभिन्न कार्यअन्र्तगत शरीरको तापक्रम ठीक राख्न र शरीरका लागि पनि पानी अत्यन्त आवश्यक हुन्छ। गर्मी मौसममा पानी कति पिउनुपर्छ भन्ने कुरा त्यस ठाउँको तापक्रम कति छ र कति पानीको मात्रा पसिनाबाट उत्सर्जन हुन्छ, त्यसमा भर पर्छ।
स्वस्थ मानिसले चिसो मौसममा दैनिक १.५ लिटरदेखि २ लिटर पानी पिउनुपर्दछ भने गर्मी मौसममा २ लिटरदेखि ३ लिटर पानी पिउनुपर्छ। यदि बढी तापक्रम हुने र पसिना बढी आउने ठाँउमा ५ लिटरसम्म पानी पिउनु पर्दछ। पानीको मात्रा कम गर्नुपर्ने बिरामीका लागि भने डाक्टर वा पोषणविद्को सल्लाहअनुुसार पिउनुपर्छ।
गर्मी मौसममा शितलता प्रदान गर्न चिसो पेय पदार्थ, आइसक्रिम खाने गर्दछौं। तर यस्ता खानेकुराहरूले शरीरलाई क्षणिक शितलता प्रदान गर्दछन्। यस्तो खानेकुराको अधिक प्रयोगले शरीरको भित्री तापक्रम र बाहिरी तापक्रममा असन्तुलन गराइ शरीरलाई बढी गर्मी महसुस गराउँछ। साथै शरीरमा पानीको मात्रा पनि कमी गराई सुख्खा गराउँछ। यसले गर्दा मानिसमा विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छन्। त्यसकारण खाना खाँदा क्षणिक आनन्द दिनेभन्दा कसरी स्वस्थ रहन सकिन्छ भन्ने कुरा ध्यान दिनु जरुरी हुन्छ।