काठमाडौं - एचआइभी सङ्क्रमित पोखरा, रत्नचोकका ५६ वर्षीय गोपाल श्रेष्ठले आज बिहान सगरमाथाको सफल आरोहण गरेका छन्। उनी सगरमाथाको आरोहण गर्ने पहिलो एचआइभी सङ्क्रमित नेपालीसमेत भएको जिकिर गरिएको छ।
उनले बिहान ८ः१५ मा सगरमाथामा पाइला टेकेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। पूर्वराष्ट्रिय फुटबल खेलाडी उनले ‘स्टेप–अप क्याम्पेन : सेकेण्ड फेज एभरेष्ट एक्स्पिीडिशन’(अभियान अघि बढाऔँः दोस्रो चरणको सगरमाथा आरोहण) अन्तर्गत सगरमाथाको आरोहण गरेका हुन्। विसं २०७२ मा नै सगरमाथा चढ्ने योजना भए पनि त्यतिबेला गोरखा भूकम्पका कारण चढ्न नसकेको उनले जानकारी दिए।
श्रेष्ठले यो अभियानमार्फत समाज र देशमा एचआइभीसम्बन्धमा सचेतना फैलाउने लक्ष्य लिइएको बताए। उनका अनुसार यस अभियानमार्फत एचआइभी सङ्क्रमित बालबालिकाको गुणस्तरीय शिक्षाका लागि सहयोग गरिने छ। विश्व कीर्तिमानी राख्नसमेत सफल भएका ड्रिमर्स डेष्टिनेशन ट्रेक्स एण्ड एक्स्पिीडिशनका फुर्वा तेञ्जिङ शेर्पाको नेतृत्व र आठ पटक आरोहण गरिसकेका आरोही दाकिपा शेर्पाकोे पथप्रदर्शनमा श्रेष्ठले आठ हजार ८४८ मिटर अग्लो सगरमाथा आरोहण गरेका हुन्।
उनले सन् २०१३ मा पाँच हजार ४१७ मिटर अग्लो थोराङ ला पास र सन् २०१४ मा छ हजार १८९ मिटर अग्लो आइल्याण्ड पिकको सफल आरोहण गरिसकेका थिए।
उनले सन् २०१६ मा भर्जिन पिक-खाङ कार्पीको समेत आरोहण गरिसकेकाछन्। सगरमाथाको सफल आरोहण गरेर श्रेष्ठले एचआइभी सङ्क्रमितले पनि जोखिम र चुनौतीपूर्ण काम गर्न सक्छन् भन्ने प्रमाणित गरेका छन्।
उनी देशको मात्रै नभएर विश्वका समेत सङ्क्रमितका लागि आशाको केन्द्र बनेका छन्। एचआइभी सङ्क्रमितलाई गरिने विभेदका विरुद्धमा सन्देश दिने उद्देश्यले यो काम गरेको आरोही श्रेष्ठले बताए।
उनलाई २५ वर्ष पहिले एचआइभी सङ्क्रमण देखिएको थियो। सङ्क्रमित सुईको प्रयोग गर्दा उनमा एचआइभी सरेको थियो।
सन् २०१७ को विश्व स्वास्थ्य संगठनको तथ्याङ्कानुसार अहिले विश्वभरमा एचआइभी सङ्क्रमितको सङ्ख्या तीन करोड ६४ लाख छ। नेपालभर ३१ हजार २० एचआइभी सङ्क्रमित रहेको नेशनल सेण्टर फर एड्स एण्ड एसटिडी कन्ट्रोलले जनाएको छ। रासस