सन् १९५८ मा पहिलो पटक अनुसन्धानमा समावेश बाँदरहरुबीच देखिएको थियो मंकी पोक्स। यो सन् १९७० मा पहिलो पटक अफ्रिकी मुलुक कंगोमा मानिसमा देखापरेको थियो। अफ्रिकी महादेश बाहिर मानिसमा सन् २००३ मा संयुक्त राज्य अमेरिकामा देखा परेको थियो भने सन् २००८ मा बेलायत र इजरायलमा क्रमस देखा परेको थियो।
सिंगापुरमा यही महिना मेमा मंकी पोक्स देखा परेको त्यहाँको स्वस्थ मन्त्रालयले सार्वजनिक गरिसकेको छ। यो नै एसियामा देखिएको मंकी पोक्स भाइरसको पहिलो घटना हो। सिंगापुर तथा सो देशको छिमेकी देशहरुले यस भाइरसविरुद्ध विशेष सतर्कता अपनाइसकेका छन्। नेपालमा पनि यसको सम्भावित प्रवेशलाई ध्यानमा राखेर सुरक्षाका उपायहरु अपनाउन सुरु गरिसकेको छ। के नेपालमा मंकी पोक्स संक्रमणको जोखिममा देखिन्छ?
यो एक प्रकारको भाइरस हो। यसलाई भूगोल र जिनको आधारमा दुई भागमा बाँडिएको छ। यी दुई फरक मंकी पोक्स एउटा पश्चिम अफ्रिकी र अर्को मध्यअफ्रिकी मुलुकमा पाइने गर्छ। मध्य अफ्रिकी मुलुकमा पाइने मंकी पोक्स भाइरस पश्चिम अफ्रिकी देशहरुमा पाइने मंकी पोक्स भाइरसभन्दा कडा र मृत्युदर पनि बढी हुने गरेको पाइएको छ। त्यस्तै मध्यअफ्रिकी मंकी पोक्स भाइरस मानिसबाट मानिसमा पनि पश्चिम अफ्रिकी मंकी पोक्स भाइरसभन्दा सजिलोसँग सरेको पाइएको छ।
संक्रमण भएको सामान्यतय सातदेखि चौध दिनमा यसका लक्षणहरु देखा पर्ने गर्दछन्। उच्च ज्वरो, मांसपेसी दुख्नु, लिफ ग्रन्थी सुन्निनु र शरीरमा बिबिराहरु देखिनु यसका प्रमुख लक्षणहरु हुन्। बिबिराहरु ज्वरो आएको तीन दिनपछि देखिन सुरु हुन्छ। बिबिराहरुको फोकामा पानी जस्तो तरल पदार्थ देखिन्छ र पछि फुटेर पाप्रो भई झर्ने गर्दछ। संक्रमण झन्डै चार हप्तासम्म लम्बिने गर्छ।
यसको संक्रमण फैलाउन मद्दत गर्नेमा अफ्रिकामा विशेष गरेर मुसाहरु भएको देखाए तापनि विस्तृत अध्ययन भने भएको पाइँदैन। यो संक्रमित मानिस वा जनावरहरुबाट खुला छाला, श्वास-प्रश्वास (खोकेर) वा नाक, मुख, आखाबाट सर्न सक्छ। तसर्थ परिवारका अरु सदस्यहरु तथा स्वस्थकर्मीहरुले विशेष सतर्कता अपनाउनु पर्ने हुन्छ।
हाल सिंगापुरमा देखिएको संक्रमण नाइजेरियाबाट आइपुगेको व्यक्तिमा देखा परेको हो। र त्यो व्यक्तिसँग हेलमेल भएका त्यहाँका बासिन्दाहरुलाई विशेष निगरानीमा राखी परीक्षणहरु गरिरहेका छन्। त्यहाँको सम्बन्धित निकायले द्रुत गतिमा अनुसन्धान थालेकोले पनि यो संक्रमण फैलिनबाट रोकेको देखिन्छ।
विगत केही वर्ष यता रोजगारीको अवसर खोज्दै नेपालीहरु अफ्रिकी मुलुक जाने क्रम तीब्र गतिमा बढेको छ। यसले सिंगापुरमा जस्तै मंकी पोक्सको भाइरस नेपालमा पनि आयात हुनसक्ने सम्भावनालाई बढाइदिएको छ। नेपालीबाट मात्र नभई सिंगापुरमा जस्तै स्वयं अफ्रिकी मुलुकका नागरिक नेपाल आउने क्रम बढ्दो रुपमा देखिएकोले भाइरस आउने सम्भावना थप प्रबल देखिएको छ।
यो पंक्तिकारले आयातित संक्रमणहरुले सम्भावित जनस्वास्थमा पार्नसक्ने समस्याको बारेमा धेरै पटक बहसमा ल्याइसकेको छ। र विभिन्न संक्रमणमध्ये मंकी पोक्सको संक्रमण पनि अब थपिएको छ। महत्वपूर्ण कुरा त के भने, सर्वसाधारणले यसको बारेमा सुनेका पनि छैनन् र चिकित्सकको सम्पर्कमा मंकी पोक्सको बिरामी पुगे पनि त्यसको पहिचान र निदान गर्न उनीहरुलाई पनि गाह्रो भने हुनेछ।
यसर्थ मंकी पोक्स भाइरस सम्बधी जानकारी वा तालिम चिकित्सकहरुलाई समय समयमा दिनुपर्छ। यसको जिम्मेवारी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) संस्थाले लिनसक्छ। हाल यस्तो संस्था नेपालमा अस्तिस्त्वमा नरहे तापनि आवश्यकता भने देखिसकेको छ। हाल सिंगापुरमा सीमित भएको जस्तो देखिएको मंकी पोक्स भाइरस नेपाल लगायत अरु एसियाली राष्ट्रहरुमा नफैलिएला भन्न सकिँदैन।
सिंगापुर एसियाको आर्थिक रुपमा सम्पन्न देशमध्येमा पर्ने भएकोले मंकी पोक्स भाइरस छिट्टै पहिचान गरेको हुनसक्छ। तर नेपालमा प्रवेश गरे सिंगापुरले जस्तो सहजै यो भाइरस पहिचान गर्न विभिन्न कारणले गर्दा चुनौती हुनसक्छ। चिकित्सकहरुलाई मंकी पोक्स भाइरसको बारेमा जानकारी तथा तालिमहरु दिन सके सो भाइरसलाई रोक्न वा समयमा नै पहिचान गरी नियन्त्रणमा ल्याउन धेरै सहज हुने थियो।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)