काठमाडौं– संगीतकार संघ नेपालले जेठ १८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
‘सुन्दर सिर्जनाका लागि स्वस्थ कलाकार’ भन्ने नाराका साथ ललितपुर खोकनास्थित रुद्रायणी हाइस्कुलमा शिविर सञ्चालन गर्न लागिएको संघका अध्यक्ष शान्तिराम राईले पत्रकार सम्मेलन मार्फत् जानकारी दिए।
रोटरी क्लब अफ माउण्ट एभरेष्टसँगको सहकार्यमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन गरिने जनाइएको छ।
शिविरमा श्रष्टा तथा कलाकारहरूको निःशुल्क स्वास्थ जाँच गरिने भएकाले सहभागिताका लागि कलाकारहरूलाई आह्वान गरिएको छ।
शिविरमा जनरल चेकअप, डेन्टल, इएन्टी (नाक, कान, घाँटी), पाठेघर, प्रेसर तथा सुगरको जाँच गरी औषधि समेत उपलब्ध गराइने छ।
विगत २ वर्षदेखि संगीतकर्मी कल्याणकारी कोष स्थापना गरी श्रष्टा तथा कलाकारलाई आर्थिक सहयोग गर्दै आइरहेको संघले कलाकारहरू बिरामी पर्दा औषधि उपचार खर्चसमेत दिँदै आइरहेको संघका अध्यक्ष राईले बताए।