काठमाडौँ- आज मे २५ अर्थात् विश्व थाइराइड दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैँछ।
दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालि, काठमाडौं डाइबेटिज एन्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त रुपमा र्याली निकालेको छ।
अल्का अस्पतालबाट सुरु भएको र्याली जावलाखेल,कुमारीपाटी, मंगलबजार, पुल्चोक हुदैँ पुन अल्का अस्पतालमा आएर समापन भएको थियो।

विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्दैछ।
पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन्।
नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै रहेको डाक्टर अशुंमाली जोशीले बताए।
शरीरमा आयोडिन थोरै वा धेरै हुदाँ थाइराइड ग्रन्थीहरुलाई असर गर्ने उनले बताए। थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ।
के हो त थाइराइड रोग?
मानव शरिरमा रहेको रुद्रघण्टीको तल तिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ। यो पुतली आकारको हुन्छ। यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ।
यो हर्मोनले शरीरमा मोटाबोलिजम नियन्त्रण गर्छ। थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ।
यी हर्मोनहरुको शरीरको वृद्धि विकासमा भुमिका खेलेको हुन्छ।
थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ। र यो रोग लाग्छ।
थाइराइडमा समस्यामा छ/छैन भनेर थाहा पाउनु पहिला टिएचएस अर्थात थाइराइड स्टिमुलेटिङ हर्मोनको जाँच गर्नुपर्छ।
यसमा तल/माथि आयो भने ‘टि थ्री’, ‘टि फोर’ र टिएसएच जाँच गर्नु पर्ने हुन्छ।
टिएचएस हर्मोन बढेपछि ‘टि थ्री’ र ‘टि फोर’ घट्नै पर्छ भन्ने हुँदैन। यसका साथै टिएचएस घटेपछि ‘टि थ्री’ र ‘टि फोर’ बढ्नै पर्छ भन्ने पनि हुँदैन।