सिञ्जा- सिञ्जा गाउँपालिका–६ मा स्थापना भएको मितेरी बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ। नेप्लिज नर्सिङ एसोसिएसन युकेले जुम्लाको विकट गाउँमा बर्थिङ सेन्टर स्थापना गरिदिएकाे हाे।
एक्सन वर्कस् नेपालको सहकार्यमा निर्माण भएको बर्थिङ सेन्टरमा २ कोठे भवनमा १ जना अनुभवी अनमी पूर्णकालीन रुपमा कार्यरत छन् भने केन्द्रमा प्रसुतिसम्बन्धी सम्पूर्ण सेवाका साथै मातृशिशु स्वास्थ्यसम्बन्धी शिक्षा पनि प्रदान गरिने छ।
उक्त गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल, ६ नं वडाका अध्यक्ष कालीबहादुर बुढा र २ नं वडाका अध्यक्ष नवीन शर्माले बुधबार संयुक्त रुपमा उक्त सेन्टर शुभारम्भ गरेका थिए।
अध्यक्ष रावलले ६ नं वडाका महिला तथा दिदीबहिनीहरुलाई सजह तरिकाले प्रसूति सेवा दिनका लागि बर्थिङ सेन्टर भवन स्थापना गरिएको र यसमा प्राय सबै सुविधा उपलब्ध गराइएको बताए । वडाध्यक्ष बुढाले २२ लाख ६२ हजारको लागतमा उक्त सेन्टर निमार्ण गरिएको जानकारी दिए।
एसोसिएसनका अध्यक्ष विनोदविकास सिंखडाले ‘गर्भवती महिलाहरुको लागि आवश्यक सम्पूर्ण चेकजाँचका साथै सुरक्षित रुपमा सुत्केरी गराउनका लागि केन्द्रले सेवा दिनकाे लागि सेन्टर स्थापना गरेकाे बताए।’