डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा गर्भपतनका औषधि अवैधानिक रुपमा बिक्री हुने गरेको र जताततै पाइने गरेको भन्दै सुरक्षित गर्भपतनसम्बन्धी एक कार्यक्रममा सहभागीले चिन्ता प्रकट गरेका छन्। मेडिकल पसलहरुले समेत जथाभावी गर्भपतनका औषधि बेच्ने गरेको भन्दै सो कार्यक्रममा सहभागीहरुले चिन्ता प्रकट गरेका हुन्।
गर्भधारण भइसकेपछि गर्भपतन गराउने क्रम बढेको र त्यस्ता गर्भपतन अवैध संस्थामा गराउने वा गर्भवतीको जाँच नै नगरी औषधि बिक्री गर्ने गरेको उनीहरुको भनाइ छ। मेडिकलहरुले गर्भपतन गराउने औषधि महंगो मूल्यमा बिक्री गर्ने गरेको समेत भन्दै यसलाई रोक्नुपर्ने सुझाव सहभागीले दिएका छन्।
मेडिकलहरुले बेच्ने औषधि गर्भपतन किडका नामले चिनिने गरेको छन्। अवैध रुपमा गर्भ रहेको लगायतका समस्याले महंगो मूल्य तिरेर औषधि किन्ने गरेका छन्। ज्यान नै जोखिममा पार्ने औषधि अनुमति बिना बेच्न नपाइने भएपनि सुदूरपश्चिमका अधिकांश औषधि पसलेले अवैध रुपमा बेच्ने गरेका छन्।
महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भ पतन गराउन सकिने कानुनी प्रावधान छ। त्यस्तै आमा र बच्चाको ज्यान नै जोखिममा पर्नेलगायतका विषेश परिस्थितिमा २८ हप्तासम्मको गर्भलाई गर्भपतन गर्न सकिने डडेल्धुरा अस्पताल डडेल्धुराकी स्टाफ नर्स ललिता जोशीले बताइन्।
‘चेतनाको अभाव तथा असुरक्षित गर्भधारण हुने भएकाले यहाँका मानिस मेकिकलबाट अवैध रुपमा औषधि लगेर प्रयोग गर्छन्,’ उनले भनिन्, ‘त्यस्तो औषधीले असर गर्दा अत्यधिक रक्तश्राव भई अस्पताल आउनेको संख्या धेरै छ।’
विषेशगरी अछाम, बझाङ, बैतडी, बाजुरा, डाटीबाट त्यस्ता केस आउने उनले बताइन्। ‘कोहीकोहीको त ज्यानै जानेगरी रगत बगेको हुन्छ।’ मेरी स्टोपस् सेन्टरकी स्टाप नर्स लक्ष्मी खड्काले भनिन्, ‘हामीले त्यस्ता जटिल केसमा परामर्श दिने गरेका छौं।’ धेरैजसो बिरामीलाई रगत दिनुपर्ने उनले बताइन्। अवैध औषधिको बढ्दो प्रयोगका कारण अत्यधिक रगत बग्ने उनले बताइन्।
शुक्रबार बहुउदेश्यीय विकास समाज अन्तर्गतको सुरक्षित गर्भपतन सेवा सम्बन्धी कार्यक्रममा डडेल्धुरामा गत आर्थिक वर्षमा १ हजार ६९ जनाले सुरक्षित गर्भपतन गराएको तथ्याङ्क प्रस्तुत गरिएको छ। त्यस्तै यस आर्थिक वर्षको चैतसम्म ७ सय ९२ जनाले सुरक्षित गर्भपतन गराएका छन्।
जनचेतना अभावका कारण अझैंपनि असुरक्षित गर्भपतन गर्नेको संख्या निकै छ। सीमित स्वास्थ्य संस्थामामा सेवा हुनु, गर्भपतन सम्बन्धी लाञ्छना, कानुनी मान्यता प्राप्त गरेकोबारे जानकारी नहुनु तथा अवैधानिक गर्भपतनका कारण सुरक्षित गर्भपतन गर्नेको संख्या न्यून रहेको कार्यक्रम अधिकृत हिरा ऐरले बताइन्।
अझैपनि भारतमा गएर तथा लुकीछिपी मेडिकलमा अवैध गर्भपतन गराइने उल्लेख गर्दै जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टले त्यसलाई न्यूनीकरण गर्नुपर्ने बताएका छन्। त्यसका लागि जनचेतनाका कार्यक्रम सन्चालन गरिनुपर्ने उनको भनाइ छ।
गर्भको लिंग पहिचान गरी गर्भपतन गराइने हुँदा त्यसको न्यूनीकरण गर्न स्थानीय तहले विशेष पहल चाल्नुपर्ने उनको भनाइ थियो। वैदेशिक रोजगार, गर्भपतनका औषधि, चेतनामा कमीलगायतका कारणले असुरक्षित गर्भपतन हुने गरेको कार्यक्रमका सहभागीले बताएका थिए।