ललितपुर- नयाँ पुस्ताका न्युरो सर्जनलाई प्रोत्साहन गर्दै दुई दिने न्युरो इन्डोभास्कुलर वर्कसप सम्पन्न भएको छ। नेपाल मेडिसिटी अस्पतालमा शुक्रबार र शनिबारसम्म भएको वर्कसपमा ४० जना न्युरो सर्जनको सहभागिता थियो।
न्युरो इन्डोभास्कुलरका क्षेत्रमा विकास भएका नयाँ प्रविधिको बारेमा जानकारी दिँदै त्यस्ता प्रविधिको बिरामीमा सफल प्रयोग कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर वर्कसप गरिएको थियो।
बरिष्ठ न्युरो सर्जन डा गोपाल रमण शर्माको अगुवाई भएको यो वर्कसपमा जापानबाट ९ जनाको टोली आएका थिए। वर्कसपमा नयाँ पुस्ताका न्युरो सर्जनलाई मस्तिष्कको नसा फुल्ने (एनोरिजम), गुजुल्टो पर्ने (एभिएम) जस्ता रोगको उपचार विगतमा जस्तो टाउको नखोली हात वा खुट्टाको नसाबाट तार छिराएर गर्ने नयाँ उपचार विधिका विषयमा जानकारी दिइएको छ।
न्युरो इन्डोभास्कुलर उपचार विधि भनेको हृदयाघात भएका बिरामीको मुटुमा नसाको माध्यमबाट स्टेन्ट हालेर मुटुको बन्द भएको नसा खुलाउने कार्य जस्तै हो। विगतमा मस्तिस्कको नसा फुलेको समस्या जसलाई एनोरिजम भनिन्छ वा एभिएमको समस्यामा टाउकोलाई शल्यक्रिया गरेर खोलेर उपचार गरिन्थ्यो। तर, नयाँ प्रविधि अनुसार टाउको नचिरिकन हात वा खुट्टाको नसामा विशेष किसिमको तार छिराएर मस्तिस्कको फुलेको नसा भएको स्थानमा विशेष ‘क्वाइल’ राख्ने काम गरिन्छ।
वर्कसपमा न्युरो सर्जनलाई नयाँ प्रविधिका विषयमा सिकाउनका लागि नमुना मेसिन ल्याइएको थियो। मानव शरीरजस्तै उक्त मेसिनमा नयाँ पुस्ताका न्युरो सर्जनले यो उपचार विधिका विषयमा सिकाइएको न्युरो सर्जन डा प्रसन्ना कार्कीले जानकारी दिइन्।
वर्कसपमा जापानका प्रतिष्ठित न्युरोसर्जन प्रा. नाओया खुयायामाको टोलीले यो विधिका विषयमा जानकारी दिएका थिए।
कार्यक्रममा नेपाली न्युरोसर्जनहरुको प्रतिनिधित्व गर्ने संस्था नेप्लिज सोसाइटी अफ न्युरो सर्जनस्का अध्यक्ष डा मोहनराज शर्मा, पूर्व अध्यक्ष डा बसन्त पन्त, न्युरो भास्कुलर च्याप्टरका महासचिव डा यमबहादुर रोकाको पनि सहभागिता रहेको थियो।