'स्वास्थ्यकर्मीलाई बिरामीको सुइले घोच्यो' भन्ने विषय बाहिर खासै चर्चामा नआउने तर भुसको आगोजस्तै भित्रभित्रै स्वास्थ क्षेत्रमा व्याप्त रहेको तितो सत्य हो। यसबाट विशेष गरी नर्सहरू बढी प्रभावित हुने गरेको देखिए तापनि चिकित्सक, प्रयोगशालामा कार्यरत कर्मचारीलगायत स्वास्थ क्षेत्रमा काम गर्ने अरू कर्मचारी पनि उत्तिकै प्रभावित छन्।
यो विषयले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई मानसिक रुपमा ठुलो तनाब दिने गरेको पाइन्छ। प्रयोग भइसकेको सुइबाट सरुवा रोग सर्ने सम्भावना रहने गर्दछ। साधारणतया अस्पतालमा काम गर्ने कर्मचारीलाई सुइलगायतका उपकरणले छालामा घोच्ने गरेकै हुन्छ। बिरामीको रोग स्वास्थ्यकर्मीमा नसरोस् भन्नका लागि स्वयं स्वास्थ्यकर्मी नै सचेत हुनुपर्दछ। संक्रमण भए आफू मात्र नभई परिवारको स्वास्थ सुरक्षालाई लिएर अरु थप तनावमा पर्ने चिकित्सकको संख्या कम छैन।
यस्तो छ विश्वमा यसको अवस्था
सन् २००२ मा विश्व स्वस्थ संगठनले प्रकाशित गरेको एक अध्ययन प्रतिवेदन अनुसार ३५ मिलियन स्वास्थकर्मीमध्ये २ मिलियनलाई कुनै न कुनै औजारले छाला छेडेको पाइएको छ। त्यसमा ३७.६ प्रतिशत हेपाटाईटिस 'बी', ३९ प्रतिशत हेपाटाइटिस 'सी' र ४.४ प्रतिशत एचआइभी/एड्स संक्रमण प्रयोग गरिएका सुइले घोचेर स्वस्थकर्मीहरुमा सरेको तथ्यांक देखिन्छ। यी तीन संक्रमण नै सबैभन्दा बढी चिन्ताका विषय रहेका छन्।
यी संक्रमणमध्ये हेपाटाइटिस 'बी' को उपचार संभव छ। एचआइभी संक्रमण नै नहोस् भनेर विशेष औषधि प्रयोग गर्ने गरिन्छ। हेपाटाइटिस 'सी' को संक्रमण भएपछि प्रयोग हुने औषधी पनि उपलब्ध छ। यो बजारमा आइपुगेको केही समयमात्र भएको छ।
बिरामीको सुइले घोचे स्वास्थ्यकर्मीले के गर्ने?
१) सबैभन्दा पहिला त न आत्तिने। र आफूलाई सुइले घोचेको बिरामीको बारेमा राम्रोसँग फेरी जानकारी लिने। बिरामीमा हेपाटाईटिस 'बी' को संक्रमण भएमा:
-आफूले हेपाटाईटिस 'बी' को खोप नलगाएको भए हेपाटाईटिस 'बी' को इमुनोग्लोबुलिन चौबिस घण्टाभित्र लिनुपर्दछ र हेपाटाईटिस 'बी' को खोप पनि सकेसम्म चाँडो लगाउनु पर्दछ।
यदी कुनै समयमा खोप लगाएको भए यसको 'एन्टीबडी टाईटर' तुरुन्त परीक्षण गरी आवश्यक 'टाईटर' भए चिन्ता लिनु पर्दैन।
२) बिरामीमा एचआइभी संक्रमण भएमा:
-यसको उपचार हालसम्म पत्ता नलागेकाले संक्रमित व्यक्तिको सुइले घोचेमा घोचेको समयदेखि ७२ घन्टाभित्र एचआइभी संक्रमण रोक्ने औषधि प्रयोग गरिसक्नु पर्दछ। यसको तीन महिनापछि एचआइभी परीक्षण गर्न सकिन्छ।
३) बिरामीमा हेपाटाईटिस 'सी' भएमा:
- यसको खोप र संक्रमण रोक्ने औषधी दुबै पत्ता लागेको छैन। यसमा स्वयम् स्वास्थकर्मीले विशेष सतर्कता अपनाउनु पर्दछ।
यसको जाँच चारदेखि दशभित्रको अवधिमा गर्न सकिन्छ तर अधिकांशको ६ महिनापछि मात्र 'एलाईजा पोजिटिभ' देखिने गर्दछ। तर पीसीआर प्रविधिबाट भने दुई तीन हप्तापछि जाँच गर्न सकिन्छ।
अन्तमा, जो कोही व्यक्ति पनि यदि स्वास्थ क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ भने हेपाटाईटिस 'बी' को खोप अनिवार्य लगाउनु पर्दछ। यसैगरी, एचआइभी संक्रमितको सुइले घोचेमा कति समयभित्र औषधि लिईसक्नु पर्छ भन्ने जानकारी हुनुपर्दछ। यो लगभग सबै अस्पतालको आकस्मिक कक्षमा उपलब्ध हुनुपर्दछ।
डा पुन, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।