काठमाडौँ– काठमाडौँमा प्रोस्थोडोन्टिक (नक्कली दाँतसम्बन्धी) चिकित्सकहरूको सम्मेलन हुने भएको छ। यही जेठ २४ गते सम्मेलन हुन लागेको आयोजक प्रोस्थोडोन्टिक सोसाईटी अफ नेपालले जानकारी दिएको हो।
दाँत तथा अनुहारका केही अंग नभएको अवस्थामा त्यसको नक्कली अंग बनाउने, फिक्स, ब्रिज, इम्प्लान्ट आदिको विश्वमा प्रगति, अप्ठ्यारा र तिनको समाधानका विषयमा सम्मेलनमा छलफल हुने आयोजकले बताएको छ।
सोसाईटीले हरेक ६ महिनामा यस्ता सम्मेलन गर्दै आएको सोसाइटीकी अध्यक्ष प्रा. डा. सरिता प्रधान जोशीले बताइन्। सम्मेलन आयोजक समितिका प्रेस संयोजक वरिष्ठ कन्सल्टेन्ट प्रोस्थोडोन्टिस्ट डा प्रकाश बुढाथोकीका अनुसार देशभरका १ सय बढी दन्तचिकित्सक सम्मेलनमा सहभागी हुनेछन्।
सम्मेलनको १२ सदस्यीय आयोजक समितिको संयोजकमा प्राडा विनोद आचार्य र सचिवमा डा प्रभात श्रेष्ठ रहेका छन्।
सम्मेलनमा विभिन्न दन्तसामग्री र उपकरण व्यवसायमा संलग्न एक दर्जनभन्दा बढी कम्पनीको सहभागी हुने अपेक्षा गरिएको छ।