दोलखा - सांसद एवं नेपाली काङ्ग्रेसका नेता जिपछिरिङ लामाले दोलखा जिल्लामा दश एम्बुलेन्स रु दुई शववाहन सहयोग गरेका छन्।
जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई एक–एक एम्बुलेन्स तथा भीमेश्वर र जिरी नगरपालिकालाई थप एक एक शववाहन सहयोग गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानले जनाएको छ।
दोलखाको उत्तरी गाउँ खारेमा पहिलो पटक लामाले एम्बुलेन्स सहयोग गरेका हुन्। लामो समयदेखि जिल्लाको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका लामाले गत मङ्सिरमा तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगुँ गाउँपालिका, कालिञ्चोक गाउँपालिका तथा जिरी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेका थिए।
आज लामाले दोलखाको शैलुङ गाउँपालिका, बैत्यश्वर गाउँपालिका, गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिकालाई एक एक वटा एम्बुलेन्स भीमेश्वर र जिरी नगरपालिकामा थप एक/एक वटा शववाहन सहयोग गरेका हुन्।
आफ्नो आमा र बुबाका नाममा स्थापना गरिएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट लामाले आज दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रम गरी एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन्।
एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयमा नै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको खबर सार्वजनिक भइरहेका बेला त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको भनाइ थियो। आफूले कमाएको सम्पत्ति र सांसद भएबापत आउने तलब–भत्ताको रकमबाट एम्बुलेन्स खरीद गरी नागरिकको सेवामा आफूले ध्यान दिएको सांसद लामाले बताए। रासस