काठमाडौं– नेसनल बाथरोग सेन्टर छैठौं वर्षमा प्रवेश गरेको छ।
संस्थाले छैठौं वर्षको अवसरमा दक्ष जनशक्ति उत्पादनको लागि विभिन्न १८ जिल्लामा स्वास्थ्यकर्मीहरुलाई तालिम संचालन गरेको अस्पतालले जनाएको छ। संस्थाले यसै अवधिमा नेपालको विभिन्न १४५ वटा स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
प्रत्येक जिल्लामा बाथरोग सेन्टरको विस्तार गर्ने उद्देश्यका साथ ४ जिल्लामा केन्द्र स्थापना गरी विगत १ वर्षदेखि समुदायमा आधारित अनुसन्धान गरिरहेको अस्पतालले जनाएको छ।
भक्तपुरमा २ हजार एक सय ६१, जावालाखेलमा ६ हजार ४ सय दुई सय ७४, रातोपुलमा २६ हजार १ सय ५४, पोखरामा ४ हजार २ सय ४५, झापाको बिर्तामोडमा ६ सय १२ र निःशुल्क स्वास्थ्य शिविरहरुमा ४३ हजार दुई सय जना गरी कुल ८२ हजार ७ जनालाई बाथरोगको उपचार गरिएको अस्पतालले जनाएको छ।
कार्यक्रममा बाथरोग विशेषज्ञ डा विनित वैद्यले बाथरोगका जनशक्तिलाई दक्ष बनाउन तालिमको आयोजना गरेको बताएका थिए।
संस्थाका प्रबन्ध निर्देशक रोशन कक्षपतिले दक्ष जनशक्ति उत्पादनको लागि विगत ६ वर्षमा तालिम, प्रविधि तथा प्राविधिक क्षमतालाई अभिबृद्धि गर्ने काम भएको जनाकारी गराए।
उनका अनुसार विभिन्न जिल्लामा बिरामी संख्यामध्ये २ दशमलव ५ प्रतिशत बाथ रोगबाट ग्रसित बिरामीको उपचार सेन्टरले गराएको छ।
सेन्टरले बाथरोगको सेवामा खटिएका उत्कृष्ट कर्मचारीको सम्मान पनि गरेको थियो।