अछाम– पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारको साझेदारीमा न्याय हेल्थ नेपालले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको भन्दै प्रशंसा गरेका छन्।
स्रोत र साधनको अभावका बीच पनि गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिन सकिने उदाहरण प्रस्तुत गरेकोमा थापाले न्याय हेल्थ नेपालको प्रशंसा गरेका हुन्।
अछाम भ्रमणका क्रममा आज सोमबार बयलपाटा अस्पताल पुगेका थापाले अछाम र यस क्षेत्र वरिपरिका जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिएर न्याय हेल्थ नेपालले उदाहरणीय काम गरेको बताए।
प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले ग्रामीण भेगमा जनतालाई गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिए।
अस्पताल भम्रणमा अछामका प्रतिनिधिसभा सदस्य रामबहादुर बिष्ट, प्रदेश सभा सदस्य अम्बी थापा लगायतको सहभागिता रहेकोे थियो। अस्पतालले दिइरहेको सेवाका बारेमा थापालाई मेडिकल निर्देशक डाक्टर विकास गौचनले जानकारी गराएका थिए।