काठमाडौं– भारतका प्रसिद्ध लेखक अभय वैद्यले ओशोको मृत्यु अस्वभाविक र षडयन्त्रमूलक भएको खुलासा गरेका छन्।
वैद्यको सन् २०१७ मा प्रकाशित खोजमूलक पुस्तक ‘हू किल्ड ओशो’ का सम्बन्धमा हालै ओशो तपोवनमा आयोजित अन्तरसम्वाद कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन्।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका रेसिडेन्ट सम्पादक समेत रहेका वैद्यले १९ जनवरी १९९० मा भएको ओशोको निधनबारे आफूले करिब ३० वर्षसम्म गरेको खोजबाट निस्केका विविध रहस्यमाथि प्रकाश पारेका थिए।
अन्तरसम्वादमा ओशो तपोवनका आचार्य स्वामी आनन्द अरुण, भारतीय जनता पार्टीका नेता अजीतकुमार सिंह, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत व्यक्तिहरूको उपस्थिति थियो।
कार्यक्रममा लेखक वैद्यले भने, 'मृत्यु हुनुभन्दा करिब दुई वर्ष अघिदेखि नै ओशोलाई आफ्नो परिवारका कुनै पनि सदस्यलाई भेट्न नदिई आजको दिन पनि पुना आश्रममाथि एकछत्र कब्जा जमाएका तीन विदेशीले घेरामा पारेका थिए।'
ओशोको मृत्युको दिन पनि नाक कान घाँटीका डाक्टर गोकुल गोकानीलाई षडयन्त्रमूलक रुपले डेथ सर्टिफिकेटमा हस्ताक्षर गर्न लगाएको उनले बताए। डाक्टर गोकानीको अन्तवार्ता समेत सो पुस्तकमा समेटिएको वैद्यले उल्लेख गरे।
ती तीन जना विदेशीले ओशोको नक्कली इच्छापत्र तयार गरेको र नक्कली ट्रष्ट बनाई ओशो आश्रमको सम्पत्ति हडप्न षडयन्त्र गरेको तथ्यसमेत लेखक वैद्यले कार्यक्रममा प्रस्तुत गरेका थिए।
ओशो तपोवनका आचार्य स्वामी आनन्द अरुणले आफूले सन् १९९० देखि नै ओशोको मृत्यु स्वभाविक नभई हत्या नै भएको भन्दै आइरहेको र आफूले उठाउँदै आएको आवाजलाई अभय वैद्यको पुस्तकले बल प्रदान गरेको बताए।