डडेल्धुरा– डडेल्धुराको आलिताल गाउँपालिकाले बुधबार स्वयंसेविकाहरुलाई मोबाइल वितरण गरेको छ। महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल स्वास्थ्य सेवा सञ्चालनका लागि तीन दिने तालिम दिएर ५५ मोबाइल सेट वितरण गरेको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए।
आलिताल गाउँपालिका र मेडिक मोबाइलको सहकार्यमा सञ्चालित कार्यक्रममार्फत मोबाइल वितरण गरिएको अध्यक्ष गुरुङले बताए।
गर्भवती महिलाको गर्भ जाँचमा थप टेवा पुर्याउनका लागि मातृ स्वास्थ्य सुरक्षा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रम प्रभावकारी देखिएकाले वितरण गरेको आलिताल स्वास्थ्य शाखाले जनाएको छ।
गर्भवती महिलाको सम्पूर्ण जानकारी मोबाइलमा राखेर महिला स्वास्थ्य स्वयंमसेविकामार्फत गर्भवतीको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले गरेको कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जिल्लाको ग्रामीण भेगमा मातृ शिशु मृत्युदर कम गर्न गर्भवती महिलाको सुरक्षित स्वास्थ्य जाँच गरी सुरक्षित सुत्केरी बनाउने उद्देश्यले मोबाइल वितरण गरेको जनाएको छ।
महिला स्वास्थ्य स्वयंसेविका संलग्न रहेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो वडा तथा टोलमा रहेका गर्भवतीको मोबाइलमार्फत स्वास्थ्य जाँचमा सहयोग गर्ने गरेका छन्।