धरान उपमहानगरपालिका-१५ मा त्यतिबेला तीन जनामा मात्र डेंगु संक्रमण देखिएको थियो। त्यहींबाट संक्रमण भई काठमाडौं आएका एक जना बिरामीसँग मेरो भेट भएको थियो। संक्रमणको सुरुआती भएकोले अबको एक हप्तामा यसले विस्तारै कडा रुप लिनसक्छ भनेर मैले उनलाई सजग गराएको थिएँ।
नभन्दै केही दिनमा नै उनको स्वास्थ्यमा थप असहज महसुस भएको थियो। त्यो २४ देखि ४८ घन्टाको अवधि थियो, जुन डेंगु संक्रमितहरुको लागि सबैभन्दा उच्च जोखिमको समय हो। यसलाई क्रिटिकल फेज पनि भन्ने गरिन्छ।
संक्रमित लामखुट्टेले टोकेको चारदेखि १० दिनभित्र लक्षण देखिनसक्छ। ज्वरोसँगै यी निम्न लिखित कुनै दुई लक्षण देखिए डेंगुको शंका गर्नुपर्छ। टाउको दुख्नु, आँखाको गेडी दुख्नु, मासपेसी वा जोर्नीहरू दुख्नु, वाकवाक वा बान्ता हुनु, शरीरमा स-साना चिलाउने टिकटिक परेको रातो बिबिरा देखिनु यसका लक्षण हुन्।
ज्वरो कम हुँदै जाँदा स्वास्थ्यमा सुधार हुँदै गएको भन्ने धेरैलाई लाग्छ, तर त्यसो होइन। ज्वरो कम हुँदै गए पनि थप सतर्कता अपनाउनुपर्छ। ज्वरो कमसँगै पेटमा कडा दुखाइ हुनु, लगातार बान्ता हुनु, गिजाबाट रगत बग्नु वा बान्तामा रगत देखिनु, आलश्य हुनु, छिटोछिटो श्वास फेर्नु, कलेजोको आकार बढ्नु र प्रयोगशाला जाँचमा तिब्र गतिमा प्लेटेलेटको संख्या घट्नु र हेमाटोकृत बढ्नु जस्ता लक्षण देखिनसक्छ। जसलाई सावधानी अपनाउनुपर्ने संकेतको रुपमा लिनुपर्छ।
यो क्रिटिकल फेजमा बिरामीको उपचार भएन भने मृत्यु समेत हुनसक्छ। यो लक्षण तीनदेखि सात दिनमा देखिनेगर्छ र यसको अवधि २४ देखि ४८ घन्टाको हुनेगर्छ। प्लाज्मा लिकेजको कारणले यो फेजमा पेट वा छातीमा पानी जम्ने, कडा रक्तश्राव हुने, कलेजो, किड्नी, मुटु, स्नायु प्रणाली जस्ता अंगहरुमा यसले नकारात्मक प्रभाव पर्छ। तर समयमै उपचार पाएमा भने यसको मृत्युदर एक प्रतिशतभन्दा पनि मुनि हुनेछ।
यसको खोप हालसम्म उपलब्ध नभएकोले डेंगु संक्रमण हुन नदिन लामखुट्टेको टोकाइबाट बच्नु नै हो। आजकल घर वरिपरि सफा राखौं वा पानी जम्न नदिउँ भनेर प्रचार गरेको देखिन्छ। किटनाशक औषधि पनि घर वरिपरि नै हालेको देखिन्छ, तर यो एडिस जातको लामखुट्टे घरभित्र जहाँ सफा पानी रहेको हुन्छ, त्यहीं बस्नसक्ने भएकोले आफ्नो घरभित्र पनि लामखुट्टे बस्ने वातावरण सिर्जना गर्नुहुँदैन।
एडिस जातको लामखुट्टेले बिहान र बेलुकी घाम डुब्नु अगाडि अत्यधिक मात्रामा टोक्ने भएकोले विशेष सतर्कता अपनाऔं र अरुलाई पनि जानकारी गराऔं। अनि मात्र डेंगुलाई नियन्त्रणमा ल्याउन सजिलो हुने छ।
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)