काठमाडौं– ॐ अस्पतालमा उपचारका क्रममा चार दिनअघि मृत्यु भएकी रामप्यारी थापाको उपचारमा लापरबाही भएको भन्दै परिवार तथा आफन्तजनले गरेको प्रदर्शन अन्त्य भएको छ।
अस्पतालको तर्फबाट मृतकप्रति समवेदना प्रकट गर्दै बिरामी पक्षले अस्पताललाई तिर्न बाँकी रकम मिनाहा गर्ने सहमति भएसँगै तनाव अन्त्य भएको हो।
ॐ अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मृतकका आफन्त मोहन थापा तथा गौशाला प्रहरीको रोहबरमा बसी प्रहरी कार्यालयमा सहमति भएको थियो।
सहमतिपछि आफन्तले रामप्यारी थापाको शव बुझेको र मृतकको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको रामप्यारीका बैनी ज्वाइँ खड्ग श्रेष्ठले जानकारी दिएका छन्।
पीडित पक्षले अस्पताल परिसरमा ४ दिनदेखि धर्ना दिँदा अस्पतालमा उपचाररतअरु बिरामीलाई समेत असर परेको भन्दै आइतबार प्रहरीले अस्पतालबाट लाश उठाएपछि धर्नामा बस्नेहरु तितरबितर भएका थिए।
वडा कार्यालयले वार्ता अस्पतालमा नगरी प्रहरी प्रशासनमा गर्न दुवै पक्षलाई सहजीकरण गरेपछि वार्ता सफल भएको ॐ अस्पतालले जनाएको छ।
सिन्धुपाल्चोक इन्द्रावती–१० की ५० वर्षीया रामप्यारी थापाको ॐ अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा गत बिहीबार मृत्यु भएको थियो।