धनगढी– सुदूरपश्चिमको बाजुरा जिल्लाबाट एक गर्भवतीको उद्धार गरिएको छ। बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मुक्तिकोटकी २२ वर्षिया रजनी विकको हेलिकोप्टरबाट उद्धार गरिएको हो।
उनलाई मंगलबार अपरान्ह ४ बजे व्यथाले च्यापेपछि अस्पताल भर्ना गरिएको थियो। तर त्यहाँ सुत्केरी हुन नसकेपछि बिहीबार कोहलपुरसम्म हेलिकोप्टरमार्फत लगिएको हो ।
सामाजिक विकासमन्त्री कृष्ण सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले मन्त्रालयको पहलमा ती महिलाको उद्धार गरिएको बताए।
सामाजिक विकास मन्त्रालयले यसअघि जेठ १८ गते पनि बाजुराबाट नै एक महिलाको उद्धार गरेको थियो। मन्त्रालयले यसअघि बझाङ र बाजुराबाट सुत्केरी महिलालाई एअरलिप्ट गरेर उपचारका लागि नेपालगञ्ज र कोहलपुर लगेको थियो।
सो मन्त्रालयले दुर्गम हिमाली र पहाडी जिल्लाका सर्वसाधारणलाई स्वास्थ्यसम्बन्धी गम्भीर समस्या परे एअरलिप्ट गर्ने नीति लिएको छ।