काठमाडौं– पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सांसद गगन थापाको अगुवाइमा जीवन बचाउने अभियानअन्तर्गत शनिबार पुतलीसडस्थित अरबिट इन्टरनेसनल एजुकेशन परिसरमा स्तन र पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच शिविर हुँदैछ।
शिविर बिहान १० देखि ३ बजेसम्म सञ्चालन हुनेछ।
सांसद थापाको अगुवाईमा काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा जीवन बचाउने अभियानअन्तर्गत हरेक शनिबार स्वास्थ्य शिविरको कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ।
शिविरअन्तर्गत पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षण हुँदै आइरहेको छ। यो अभियानअन्तर्गत १० वटा शिविर उक्त वडाका विभिन्न स्थानमा हुन्छ। पहिलो शिविर मैतिदेवी मन्दिर पछाडि भइसकेको छ भने दोस्रो शिविर सांसद थापाको कार्यालय ज्ञानेश्वरमा भएको थियो। यस्तै तेस्रो शिविर कालोपुलमा भएको थियो।
यसअघि भएका तीनवटा शिविरमध्ये ज्ञानेश्वरमा भएको शिविरमा एक सय १० जनाको निशुल्क जाँच गरिएको थियो। जसमध्ये ४ जनामा समस्या भेटिएको छ। समस्या देखिएकाहरुको समस्या समाधानका लागि आयोजकले सहयोग गर्ने छन्।
मैतिदेवीमा भएको शिविरमा १ सय ८० जनाले सेवा लिएका थिए। जसमध्ये १४ जनामा समस्या देखिएको छ।
यस्तै कालोपुलमा भएको शिविरमा १ सय ४४ जनाले सेवा लिएका छन्। जसमध्ये ३ जनामा समस्या देखिएको शिविरका कोअर्डिनेटर दिपेश तामाङले जानकारी दिए।
शिविरको मेडिकल सहयोगी नेपाल क्यान्सर रिलिफ सोसाइटी रहेको छ। शिविरलाई कामना सेवा विकास बैंक, मानव स्वास्थ्य र काठमाडौं महानगरपालिका वडा नम्बर ३०ले पनि सहयोग गरेको छ।
काठमाडौं निर्वाचन क्षेत्र नं ४ को संसदको कार्यलयमार्फत सांसाद थापाले यो अभियान सञ्चालनमा ल्याएका हुन्। शिविरसँगै सो वडाका प्रत्येक घरको स्वास्थ्य स्थिति सर्वे पनि हुँदै आएको छ।
यो पनि :