महोत्तरी- बालिकाको मृत्युपछि आइतबार दिनभरि बन्द रहेको महोत्तरीको जिल्ला अस्पताल आज बिहानैदेखि सञ्चालन भएको छ। जलेश्वर नगरपालिका–३ खैरा गाउँ बस्ने प्रमोद यादवकी छोरी चार वर्षीया शिवानी यादवको अस्पतालमा मृत्यु भएको थियो।
डाक्टरले उपचार नगरिदिँदा मृत्यु भएको भन्दै उनको परिवारजन र स्थानीयको एक समूहले बालिकाको शव जिल्ला अस्पतालको मूलढोका अगाडि राखेर अस्पतालमा तालाबन्दी गरेपछि आइतबार दिनभरि सो अस्पताल बन्द रहेको थियो।
मृतक बालिकाका परिवारजन तथा युवाको समूहले अस्पतालको ओपिडी, स्वास्थ्य कार्यालय, स्वास्थ्य कार्यालय प्रमुख डा राजीव झाको क्वार्टर र बालिकालाई उपचारको लागि ल्याइएको बेला ड्युटीमा रहेको तर अस्पतालमा उपचारको लागि नआएका डा केशर चौधरीको क्वार्टरमा तालाबन्दी गरी दिएका थिए। तर अस्पतालको आकस्मिक कक्ष भने सञ्चालनमा नै रहेको थियो।
आइतबार बिहान ४ बजेतिर अत्यधिक झाडाबान्ता लागेर उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएकोमा ड्युटी भएका डाक्टर केशर चौधरी तथा स्वास्थ्य कार्यालय प्रमुख डा राजीव झासमेत नआइदिएको र उपचारमा रहेका जुनियरले बालिकालाई उपचारै नगरी जनकपुर रेफर गरिदिएपछि बालिकाको बाटैमा मृत्यु भएपछि आक्रोशित परिवारजनले बालिकाको शव अस्पतालमा राखेर बन्द गराएका थिए।
तालाबन्दीका कारण अस्पतालका ओपिडी सेवा, ल्याब र स्वास्थ्य कार्यालय सञ्चालन नभएपछि सेवाग्राही मारमा परेपछि आइतबार नै जिल्ला प्रशासनमा बसेको पीडित पक्ष र अस्पताल प्रशासनबीच दोषी देखिएका डाक्टरलाई कारवाही तथा स्वास्थ्य कार्यालय प्रमुख झालाई समेत कारवाहीको लागि विभाग र मन्त्रालयमा लिखितरुपमै पत्राचार गरिएपछि आज बिहानैदेखि सो अस्पताल सञ्चालन भएको हो।
दोषी डाक्टर तथा स्वास्थ्य कार्यालय प्रमुख झामाथि कारवाहीको लागि सहमतिपश्चात् बालिकाको शव अन्तिम संस्कारको लागि लगिएको थियो भने आज बिहानैदेखि अस्पताल पूर्ववत् नै सञ्चालन भएको जनाइएको छ। रासस