महोत्तरी - महोत्तरीको बर्दिवासमा आज रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालनमा आएको छ। बर्दिवास—३ गौरीडाँडामा नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखाले सञ्चालन गर्ने केन्द्रको भवन बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रल्हाद क्षेत्रीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो।
बर्दिवास उद्योग वाणिज्य सङ्घको अगुवाइमा नवनिर्मित भवनमा ६ कोठा छन्। विभिन्न दाताबाट प्राप्त रकमले निर्माण भएको छकोठे पक्की भवन निर्माणमा रु ६४ लाख दुई हजार ४७४ खर्च भएको उद्घाटन समारोहमा भवन निर्माण समितिका कोषाध्यक्ष दीपक कार्कीले जानकारी दिए।
उद्घाटन समारोहमा महोत्तरी—१ ‘क’ बाट प्रदेशसभा सदस्य शारदा थापा, रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्र र बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रल्हाद क्षेत्रीले केन्द्रलाई सुविधा सम्पन्न बनाउन थप पहलकदमी लिने प्रतिबद्धता जनाए।
उद्घाटन समारोह रेडक्रस बर्दिवास उपशाखाका सभापति वाणिकराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो। रासस