काठमाडौं –बिरामीको सुरक्षाका विषयमा केन्द्रित रहेर राजधानीमा अन्र्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ग्रुप अफ टेक्निकल असिस्टेन्ससँगको सहकार्यमा दुई दिने सम्मेलनको आयोजना गरेको हो। सम्मेलनमा अमेरिका, बेलायत, जर्मनी, भारत, नेपाल लगायतका विभिन्न देशका गरी करिब ३ सयको सहभागिता रहेको छ।
‘बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास‘ विषयमा केन्द्रीत रहेको सम्मेलनमा बिरामीको स्वास्थ्यमा प्रभाव पार्ने प्रत्यक्ष र अप्रत्यक्ष क्रियाकलापका विषयमा छलफल हुने आयोजकले जनाएको छ।
बिरामीहरुको सुरक्षाका विषयमा स्वास्थ्यकर्मीहरुबीच अन्तरक्रिया गर्दै यसको विकासका लागि सल्लाह, सुझाब र प्रतिक्रियाहरु संकलन गरी नेपालका अस्पताललाई कसरी पूर्ण रुपमा सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा सुझाब दिइने छ।
पछिल्लो समय बिरामीहरुको सुुरक्षा विश्वव्यापी विषय बन्दै आएको छ। अमेरिकास्थित रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार बिरामीहरुको उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीहरुको भुलचुकले वर्षमा २ लाख ५० हजार बिरामीहरु अस्पतालमै मृत्यु हुने गरेको छ। मृत्युको कारणहरुमध्ये अमेरिकामा यसरी मृत्युहुनेहरुको संख्या तेश्रो नम्बरमा रहेको पाइएको छ। जुन सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको संख्यासंग तुलनात्मक रुपमा रहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक दिन अस्पताल भर्ना हुने दश मध्ये एक बिरामीमा नकारात्मक असर पर्ने गरेको छ। जसले समान्यदेखि जटिल हुँदै मृत्युसम्म पनि पुर्याएको पाइन्छ। अधिकांश अवस्थामा संक्रमण देखिने, गलत शल्यक्रिया हुनु, गलत औषधि प्रयोगमा निर्देशन गर्नु, औषधिको मात्रा बढि हुनु तथा अस्पतालभित्रै चोटपटक लाग्ने पाइएको छ।