काठमाडौं - गोकर्णेश्वर नगरपालिका–४ मा रहेको गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्र विशेषज्ञ सेवा सहित १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ। प्रदेश नं ३ सरकारको रु ५० लाख आर्थिक सहयोगमा नगरपालिकाले स्वास्थ्य केन्द्रको स्तरोन्नति गरेको हो।
स्तरोन्नति भएको घोषणा गर्न आज आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले सबै पालिकामा कम्तीमा १५ शय्याको अस्पताल आवश्यक पर्ने बताए। अबको पाँच वर्षभित्र सबै पालिकामा कम्तीमा १५ शय्याको अस्पताल बनाउन लागिपर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा सांसद कृष्णबहादुर राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, वडाध्यक्ष श्रीकुमार श्रेष्ठ लगायतले स्वास्थ्य केन्द्र स्तरोन्नतिसँगै सेवा प्रवाहसमेत सुध्रनुपर्नेमा जोड दिए।
सरकारले निःशुल्क वितरण गर्ने ५८ थरीका औषधि र प्रजनन सेवा देशभरि पुग्नुपर्नेमा धारणा उनीहरुको थियो। विसं २०३२ मा गोकर्ण स्वास्थ चौकीको स्थापना भएको थियो। पछि इलाकास्तरको प्राथमिक स्वास्थ्य केन्द्र बनाइएपनि स्वास्थ्यकर्मी नै नबस्ने गरेको स्थानीयवासीको गुनासो छ।
स्वास्थ्य केन्द्रलाई प्रदेश सरकारले बजेट विनियोजन गरेपछि नगरपालिकाले १५ शय्याको अस्पताल बनाएको हो। अस्पतालमा मेडिकल अधिकृत एक जना स्थायी, तीन जना करारसहित चार डाक्टर, दुई जना स्टाफ नर्स र अनमी चार जना रहने छन्। यसैगरी ल्याब टेक्निसियन, असिस्टेन्ट, एक्सरे अपरेटर र भ्याक्सिनेटर एक÷एक जना रहने अस्पतालकी प्रमुख मेडिकल अधिकृत डा लक्ष्मी बोगटीले जानकारी दिइन्। रासस