काठमाडौं- तारकेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयंसेविकाका लागि स्वास्थ्य र जीवन बीमाको व्यवस्था गर्ने भएको छ।
नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले स्वास्थ्य र जीवन बिमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताए। यसबाट उनीहरुलाई काम गर्न थप हौसला मिल्ने उनको भनाइ छ। 'बिमाले उपचारसँगै उनीहरुमा बचत गर्ने बानीको विकास हुन्छ', गिरीले भने।
कार्यक्रमबाट नगरपालिकाका १४२ स्वयंसेविका लाभान्वित हुनेछन्। उक्त कार्यक्रमका लागि नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ। नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरदैलौ स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ। आगामी आवदेखि सबै वडामा सो कार्यक्रम सञ्चालन गरिने सो नगरपालिकाले जनाएको छ। रासस