राजविराज– सप्तरीमा निर्माण हुन लागेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालय उद्घाटन भएको छ।
सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल हाताभित्र रहेको कार्यालयब बुधवार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका हुन्।
कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ का विषयमा विभिन्न प्रकारका अफवाह फैलाइएकाले भ्रमको पछाडि नपर्न उनले आग्रह गरे। कुल ९ अर्बको लागतमा निर्माण हुन लागेको ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को काम तीव्र रुपमा अगाडि बढ्ने उनले बताए।
असार महिनाभित्रै डिपिआर तयार भइसक्ने पनि उनले जानकारी दिए।
सरकारले आगामी वर्ष २०७६÷०७७ को बजेटमा प्रतिष्ठानका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलिया, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेश–२ की उपसभामुख उपमा देव, प्रदेश को नीति तथा योजना आयोगका उपाध्यक्ष हरिवंश झा, प्रतिष्ठान पूर्वाधार विकास अध्ययन समितिका संयोजक डा. सुबोध अधिकारी, स्वास्थ्य मन्त्रालयको प्राविधिक समितिका संयोजक सुनिल खड्का समेत सहभागी थिए।
मन्त्री यादवसहित स्वास्थ्य मन्त्रालयको टोलीले बुधबारै निर्माणाधीन भवनहरूको संरचनाबारे स्थलगत निरीक्षण गरेका छन्।
मन्त्रिपरिषद्को २०७५ पुष २३ गतेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो। प्रतिष्ठानका लागि राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित बिरौल चोकमा ६२ बिघा जग्गा उपलब्ध गराएको छ।