तुल्सीपुर - दाङकाे तुल्सीपुरमा ८३१ आँखामा मोतियाविन्दुकाे शल्यक्रिया गरिएको छ। स्थानीय निकायको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति सङ्घ दाङ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहकार्यमा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएकाे हाे।
आर्थिक अभावका कारण मोतियाविन्दुको शल्यक्रिया गर्न नसकेका आँखाका बिरामीलाई स्थानीय निकायसँग साझेदारी कार्यक्रम सञ्चालन गरी निःशुल्क शल्यक्रिया गरिएको सङ्घका सभापति कृष्णकुमार गिरीले जानकारी दिए।
चालु आर्थिक वर्षमा जिल्लाका १० स्थानीय निकाय र कर्णाली प्रदेशको सल्यान जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको छ।
जिल्लाका तुल्सीपुर उपमहानगरपालिकाभित्रका ११४, घोराही उपमहानगरपालिकाका ४०, लमही नगरपालिकाभित्रका १५८, बबई गाउँपालिकामा ८८, गढवा गाउँपालिकामा १४७ ,राजपुर गाउँपालिकामा १०८, शान्तिनगर गाउँपालिकामा ५०, राप्ती गाउँपालिकामा २१, सल्यानको छत्रेश्वरी गाउँपालिकामा ५५ र कपुरकोट गाउँपालिकाका ५० ज्येष्ठ नागरिकको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताए।
तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ‘उज्यालो संसार’ कार्यक्रम अन्तर्गत यो अभियान अस्पतालसँग साझेदारीमा सञ्चालन गरेको जानकारी दिए। उनले अभियानलाई निरन्तरता दिन आव २०७६\०७७ मा पनि माेतियाविन्दु शल्यक्रियाका लागि १० लाख बजेट विनियोजन गरिएको जानकारी दिए।
प्रदेश नंं ५ ले पनि आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखाको शल्यक्रिया शिविरको सञ्चालन गरी दृष्टिविहीनता अन्त्यका लागि आगामी आवका लागि रु पाँच करोड ४५ लाख बजेट विनियोजन गरेको छ। रासस