काठमाडाैं- उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले साविकका जिल्ला अस्पताललाई द्वितीय श्रेणीको अस्पतालमा स्तरोन्नति गरी स्त्री, बाल र शल्यचिकित्सा विज्ञसहितका जनशक्ति उपलब्ध गराउने काम भइरहेको बताएका छन्।
विनियोजन विधेयक, २०७६ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकको विनियोजन बजेट र कार्यक्रमबारे राष्ट्रियसभामा सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै उनले सुदूरपश्चिमको डोटी र वीरगञ्जस्थित नारायणी अस्पताललाई सङ्घीय अस्पतालसरह स्तरोन्नति गरी विशिष्टकृत अस्पतालका रुपमा सञ्चालनको प्रयास भइरहेको बताए।
उपप्रधानमन्त्री यादवले भने, “वीर अस्पतालप्रति जनताको ठूलो आशा, भरोसा र विश्वास छ, अहिले त्यहाँ दैनिक दुई हजार २०० ले सेवा लिइरहेका छन्, अस्पतालको सिटिस्क्यान र एमआरआई सेवा अहिले राम्रोसँग सञ्चालनमा आइरहेको छ।”
आम जनतामा आधारभूत स्वाथ्य सेवा पुर्याउन मन्त्रालयले विभिन्न योजना बनाएर काम गरिरहेको बताउँदै स्वास्थ्यमन्त्री यादवले अति विपन्न समुदायलाई स्वास्थ्य सेवाका लागि गरिने बीमाको प्रिमियम सरकारले व्यहोर्ने उनले बताए।
उपप्रधानमन्त्री यादवले भने, “मुलुकका ४६ जिल्लामा स्वास्थ्य बीमा सञ्चालनमा रहेको छ, अहिले स्वास्थ्य क्षेत्रलाई छुट्याएको बजेटले सबैलाई स्वास्थ्य सेवा पुर्याउन कठिन छ, यद्यपि स्वास्थ्यमा सबैको समतामूलक पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ, हरेक स्थानीय तहमा कम्तीमा एक स्वास्थ्य संस्था पुर्याउने लक्ष्य छ ।”
देशभर अहिले ८० वटा सर्पदंश केन्द्र सञ्चालनमा रहेको तथा स्वास्थ्य संस्थाबाट प्रदान गर्ने सेवाको गुणस्तरका लागि मापन तयार गरिएको बताउँदै उनले एक चिकित्सक एक स्वास्थ्य संस्थाको अवधारणा लागू गरिने प्रतिबद्धता जनाए।
“आयुर्वेद छाँयामा परेको छैन। गुणस्तरीय सेवा प्रदान गर्न दक्ष जनशक्ति र अत्याधुनिक प्रयोगशाला र उपकरण आवश्यक पर्छ तर त्यो हामीसँग कमजोर अवस्थामा छ ”, उपप्रधानमन्त्री यादवले भने। रासस