धुलिखेल– प्रदेश ३ का स्वास्थ्यकर्मी, खोपअधिकृत, खोप सुपरभाइजरहरूलाई राष्ट्रिय खोप कार्यक्रमबारे जानकारी दिइएको छ।
परिवार कल्याण महाशाखाले सातै प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम सुढृढीकरण एवम् पूर्णखोप सुनिश्चितता र दिगोपनाका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा प्रशिक्षण तालिम सञ्चालन गरिरहेको छ।
कार्यक्रम अन्तर्गत प्रदेशका १३ जिल्लाका स्थानीय तहका स्वास्थ्यसंयोजक,स्वास्थ्यकर्मी,खोप सुपरभाइजरलगायतलाई खोपको महत्व, खोप लगाउनुपर्ने, खोपका कारण हुने रोगको नियन्त्रण, निवारण, उन्मूलनाबारे जानकारी दिइएको हो।
महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले पूर्ण खोप घोषणाको महत्व, पूर्ण खोप घोषणा गर्न पूरा गर्नुपर्ने मापदण्ड, सबै बालबालिकाले खोप पाए नपाएको सर्वेक्षण कसरी गर्ने, कुनै बालबालिका छुटेमा कसरी व्यवस्थापन गरी कुनकुन खोप दिने भन्नेबारे प्रशिक्षण दिएका थिए।
तालिममा खोप लगाए पनि बच्चालाई देखिन सक्ने आकस्मिक समस्या जस्तो ज्वरो आएमा, पानीजस्तो पातलो पखाला लागेमा, बान्ता भएमा के गर्ने भन्ने विषयमा समेत विश्व स्वास्थ्य संगठनका डा सागर शाक्यले प्रशिक्षण दिएका थिए।
हालसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर १, प्रदेश नम्बर ५ मा यो तालिम सम्पन्न भइसकेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए।
धुलिखेलमा सञ्चालित पाँच दिने तालिम आज सम्पन्न भएको हो। समापनमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक मोहम्मद दाउदले जसलाई जुनतालिम आवश्यक छ उसलाई सोही तालिम दिइनुपर्नेमा जोड दिए।
महाशाखाका निमित्त निर्देशक केदारराज पराजुलीले पछिल्लो खोपमा चुनौती देखिएको बताए। उनले खोपको पहुँच र गुणस्तरीयता बढाउन सबै स्वास्थ्य कर्मचारी प्रतिवद्ध हुनुपर्नेमा जोड दिए।