काठमाडौं— नेपाल चिकित्सक संघले सरकारले विदेशबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको भन्दै आपत्ति जनाएको छ।
जनताको स्वास्थ्यमा आफैं गम्भीर भई लाग्नुपर्नेमा सरकारले आफैंले गरेको निर्णय फिर्ता लिएर जनताप्रतिको विश्वासमाथि कुठाराघात गरेको संघको आरोप छ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संघले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३९ मा उपभोग्य वस्तुको गुणस्तरका लागि उत्पादन, भण्डारण तथा बिक्री वितरणलाई गुणस्तर र स्वस्थ बनाइने उल्लेख गरिएको स्मरण गराएको छ।
संघका महासचिव डाक्टर लोचन कार्कीले ऐन कानून विपरीत मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अत्यावश्यक सामाग्रीहरुको गुणस्तर परीक्षणका लागि सरकार आफैं जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा जनाएका छन्।
‘मानसिक असन्तुलन, स्वासप्रश्वासमा समस्या, झाडापखाला, पिसाबमा समस्या तथा छालामा संक्रमणका साथै दीर्घकालीन रुपमा मुटु, कलेजो, मिर्गौलामा गम्भीर असर, क्यान्सर रोगको कारक बन्न सक्दछ,’ संघको विज्ञप्तिमा भनिएको छ।
जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै गुणस्तरयुक्त उपभोग्य वस्तुको निर्बाध रुपमा उपभोग गरी स्वस्थ जीवन यापन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न समेत संघले माग गरेको छ।